काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले ६ महिनाभित्र स्थिर सरकार दिने बताएकी छन् । फागुन २१ मा स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गरेर स्थिर सरकार दिने उनले दोहोर्याएकी छन् ।
परिवर्तनको आकांक्षा र नयाँ यात्राको जिम्मेवारी रहेको भन्दै उनले जेन्जी आन्दोलनले दिएको जिम्मेवारी आफूले पूरा गर्ने प्रतिबद्धता जनाएकी छन् । तिहारको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कार्कीले जेनजीले चाहेको विकास र सुशानको आधार तयार गर्ने बताएकी छन् ।
कार्कीले भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमनको निष्पक्ष छानबिन गर्ने कार्य आफ्नो प्राथमिक जिम्मेवारी रहेको बताएकी छन् ।
“निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेका छौँ । यसका लागि राजनीतिक संवाद र सुरक्षास्थितिको काम सन्तोषजनकरूपमा अगाडि बढेको छ,” उनले भनिन्, “कठिन परिस्थितिमा एकताबद्ध हुने हाम्रो मौलिक संस्कृति हो ।”
कुनै भ्रममा नपरी निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्ज्यालो भविष्य निर्माणतर्फ एक जुट हुन प्रधानमन्त्री कार्कीले सबैसँग आग्रह गरेकी छन् ।




