Odapalika - The Fourth Estate - चौथो अंग
ठूला दलका साना चित्तः कांग्रेस, एमाले र माओवादीले रातो लगाउदा बैध, रास्वपाले निलो लगाउँदा मनपरी !

काठमाडौँ । भिजिट भिसा प्रकरण सुरु भएयता संघीय संसद अन्तरगतको प्रतिनिधिसभामा रास्वपा र राप्रपाको निरन्तर विरोध छ । 

उनीहरु गृहमन्त्री रमेश लेखक मानव तस्करी अभियोगमा मुछिएको अभियोग लगाइरहेका छन् । भिजिट भिसामा विदेश जानेसँग अन्तर्राष्ट्रिय विमानस्थलमा पैसा असुलीमा गृहमन्त्रीको सचिवालय समेत संलग्न छ । त्यही भएर गृहमन्त्रीले राजीनामा दिएर छानविका लागि मार्ग प्रसस्त गर्नुपर्छ भन्ने उनीहरुको माग छ । 

यो माग स्थापित गर्न रास्वपाका सांसदहरुले आज निलो स्कार्फ लगाएर प्रतिनिधिसभा बैठकमा प्रवशे गरे । बैठकमा बोल्दै रास्वपा सांसदले गृहमन्त्रीको राजिनामा दोहोर्याइन् । 

रास्वपाका संसदहरु सवैले निलो स्कार्फ लगाएर सामुहिक तस्विर खिचेर मानव बेचविखनविरुद्धको संकेतका रुपमा स्कार्फको व्याख्या गरे । 

तर यो स्कार्फ गृहमन्त्रीको पार्टीलाई चित्त बुझेन । कांग्रेसका सचेतक श्याम घिमिरेले स्कार्फवाला पार्टीका सांसदलाई बैठकबाट निकाल्न माग नै गरे । नियमावलीको सहारा लिएर उनले भनेका स्कार्फ लगाएर आउन नपाइने जिकिरमात्र गरेनन्, हाफपाइन्ट लगाएर आए के गर्ने भनेर प्रश्न पनि गरे । 

सभामुखले बैठक स्थगित गरेर पाँच दलका सचेतकसँग छलफल गरे । छलफलमा पनि यो विषय उठ्यो । सभामुखले कसले कस्तो पोशाक लगाउने भन्ने विषय सांसदको स्वनियम भन्दै पन्छिए पनि आफ्नो गम्भीर ध्यानाकर्षण गरेको भने । 

तर कांग्रेस सांसदहरुले हेक्का नराखी दोहोर चरित्र देखाएको आजको घटनाक्रमले देखाएको छ ।  संगैको तस्वीरमा देखिएका रामहरि खतिवडा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । उनी संसद बैठकमा रातो स्कार्फ लगाएर आएका मात्र होइनन्, बोलेको पनि देखिन्छ । 

अर्को तस्वीरमा देखिएका एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घाँटीमा देखिएको स्कार्फ पनि खतिवडाकै जस्तो र जत्रो मात्र छैन, रंग पनि उस्तै छ । यो तस्वीर पनि प्रतिनिसभा बैठककै हो । 

कुनैबेला नेताहरुबीच रातो स्कार्फ बानेर संसद बैठकमा जाने फेसन नै थियो । उनीहरुले त्यसवेला आज रास्वपाले जस्तो ‘बेचविखनविरुद्धको प्रतिकका रुपमा रहेको निलो रंगको स्कार्फ लगाएर विरोध गरेका हौँ’ भनेर स्कार्फमार्फत एजेण्डा सेटिङ पनि गरेनन् । 

तर गृहमन्त्रीको राजीनामा मागिरहेको रास्वपाका सांसदलाई विरोध गर्ने धेरे बहाना हुँदाहुँदै पनि कांग्रेस सचेतकले किन स्कार्फमा प्रश्न उठाए भन्ने विषय गम्भीर छ । 

उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले जस्तो रातो स्कार्फ नलगाएका कारण संसदको गरिमा कायम नभएको भनेका हुन् कि रास्वपाले लगाएका कारण गरीमा घटेको भनेका हुन भन्ने विषय रहस्यमै छ । 

विगतमा प्रतिनिधिसभा बैठकममै नेपालमा यौन व्यवसायलाई वैधानिक मान्यता दिनुपर्ने बताएर घिमिरे विवादमा आएका थिए । पछि उनले यो अभिव्यक्तिको आशय सच्याएपछि प्रकरण त्यतिकै सेलायो । 

आशा गरौँ, यसपटक उनले यो ‘स्कार्फ तुष राजनीति’को अभिव्यक्ति फिर्ता नलिइ बरु संसदीय गरिमा विपरित भएको पुष्टि गरिदिनेछन् । 


 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update