प्रिय बालेन ! मलाई टुकुचामा गाडिनु छैन्, टुँडिखेलमा झुण्डिनु झन छैन  

‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भासणमा सुन्नु पर्ने

माथीको कुरा गलत भए मलाइ जेल हाल ।’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा यो स्टेटस पोष्ट गरेको यो आलेख तयार गर्दै गर्दा ५ घन्टा बितेको छ । 

५ घन्टामा यो पोष्टलाई झण्डै साढे ५ हजार जनाले शेयर र ११ हजार ८०० जनाले कमेन्ट गरेका छन् । 

सामाजिक सञ्जालमा सक्रिय नेता र नेतृत्वमध्ये सबैभन्दा बढी प्रतिकृया पाउनेमा पर्छन् काठमाडौँ महानगरका मेयर बालेन । यो उनको क्रेजको कुरा भयो । 

छिरौँ स्टेटसको विषयमा 

स्टेटसमा उनले लामो समयदेखि काठमाडौँ महानगरपालिकालाई प्रमुख कार्यकारी अधिकृतबिहीन बनाइएकामा आक्रोस पोखेका छन् । 

पहिला के सम्झौ भने– काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि काठमाडौँ भ्यु टावरको नक्सापास प्रकरणमा अनियमितता गरेको अभियोग लगाएर उनलाई काम गर्न रोक लगाएको बालेनले नै हो ।

गुरागाईलाई अभियोग लगाउदै छानविनका लागि एउटा समिति पनि बन्यो । समितिले समयमा काम सकिएन भन्दै म्याद थप गर्न अनुमति माग्दै पत्र लेखेपछि मेयर बालेनले समितिको म्याद थप नगर्ने निर्णय लिए । 

यो निर्णयपछि न समितिले प्रतिवेदन तयार पारेर बुझाउन पायो, न गुरागाईले पूर्ववत जिम्मेवारीमा फर्किएर काम गर्ने हिम्मत नै गरे । 

यो बीचमा बालेनले महानगरकै ३ जना कर्मचारीलाई गुरागाईको नम्सा प्रकरणमा भएको संलग्नताबारे राय पेश गर्न भने । कर्मचारीले तत्काल राय बनाएर मेयर बालेनलाई पेश गरे । 

जुन रायलाई नै मेयर बालेनले फेसबुकमा राख्दै लेखे, ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भासणमा सुन्नु पर्ने माथीको कुरा गलत भए मलाइ जेल हाल ।’

यो स्टेटसको १७ घन्टा अघि उनले लेखेको अर्कोे स्टेटस यस्तो छ । 

काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !

त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!

स्टेटसमा भनेजस्तै मेयर बालेनले टुकुचा खोलामा कसकसलाई गाड्ने हुन त्यो हेर्न बाँकी छ । तर यी २ प्रसंगमा बालेन चुकेको भने २ ठाउँमा मात्र देखिन्छ । 

पहिलो स्टेटसमा उनले टुकुचामा गाड्छु भने । मेयरले नै टुकुचामा गाड्ने भनेपछि उनको स्टेटसमाथि यो भन्दा बढी लेखेर टुकुचामा गाडिनु छैन । 

मेयर बालेको दोस्रो स्टेटस भने अलि प्रश्नको घेरामा छ । 

किनकि 

प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्ने वातावरण नदिएको सत्य हो । प्रमुख प्रशासकीय अधिकृतमाथिको छानविन डिसमिस भएको हो ? छानविन समिति डिसमिस गरेर ३ जना कर्मचारीले दिएको रायलाई बालेनले सदर गरेको कुरालाई संघीय सरकारले पनि सदर गरिदिनु पर्ने हो ? 

बालेको जिकिर यहाँँनेर आएपछि बुझिनसक्नुको भो ।  किनकी प्रचलित कानुनले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने जिम्मेवारी संघीय सरकारलाई दिएको छ । 

महानगरमा खटिने सहसचिव तहको कर्मचारी मन्त्रिपरिषदको निर्णयबाट हुने हो । तर बालेनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग पटक पटक अधिकृत मागिरहेका छन् । 

अधिकृत दिदैनौँ भने हाल आफुले तोकेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार देउ भनेर उनले भनेको एक महिना हुन लाग्यो । संघीय सरकारले त्यो अधिकार पनि दिएको छैन । 

संघीय सरकार बालेनसँग भनिरहेको छ कि सरोज गुरागाईलाई प्रमुख प्रशासकीय अधिकृतबाट फिर्ता पठाएको हो ? कि नक्सापास प्रकरणमा अभियोग पुष्टि गरेर कारवाही गरिएको हो?  अथवा महानगरको प्रमुख प्रशासकीय अधिकृत के कारण खाली भएको हो ? 

यसको जवाफ र जिम्मेवारी मेयर बालेनले दिएका छैनन्, लिएका पनि छैनन् । अब संघीय सरकारले थप जिज्ञसा राख्यो भने उनले फेसबुमा लेख्न सक्छन्– टुँडिखेलमा लगेर झुण्ड्याइदिन्छु । 

यदि बालेनले यस्तो स्टाटस लेखे भने म अहिले जति शव्द लेख्दैछु त्यति पनि लेख्दिन । मलाई टुँडिखेलमा झुण्डिनु छैन । 

तर बालेनलाई एउटा सुझाव चैँ छ । त्यो के भने– लेखाइ मिलेन, चोर सरकार होइन क्या, चोर संघीय सरकार लेख्नू मेयरसाव! सरकार त तपाई पनि हो नि, होइन र !
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update