काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भदौ १६ गते मंगलबार ८० दाताबाट चेक मार्फत २५ करोड ६७ लाख ८४ हजार रुपैयाँ राहत संकलन गरेका छन् ।
मन्त्री डा. वाग्लेको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी दाताहरुले सो बराबरको रकमको चेक उपलब्ध गराएका हुन् ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको थियो । विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका थिए । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो।
प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन गर्न सरकारले भदौ ११ गतेदेखि सुरु गरेको थियो। त्यसयताकै सबैभन्दा धेरै रकम सोमबार अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो। सोमबार अर्थमन्त्री डा. वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ।
भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर दाताहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत चेक हस्तान्तरण गरेर उपलब्ध गराएका थिए ।




