काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको तहवृद्धि तथा स्तरवृद्धि प्रक्रिया अघि बढाएको छ ।
उपमहानगरपालिकाले सोका लागि ३० दिने सूचना जारी गरेको वरिष्ठ उपसचिव मेहीलाल यादवले जानकारी दिए ।
मधेश प्रदेशको स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ तथा जनकपुरधाम उपमहानगरपालिकाको कर्मचारी तहवृद्धिसम्बन्धी कार्यविधि, २०८१ बमोजिम योग्यता पुगेका कर्मचारीलाई तहवृद्धि तथा स्तरवृद्धिका लागि आवेदन दिन उपमहानगरपालिकाले आग्रह गरेको हो।
उपमहानगरपालिकाद्वारा जारी सूचनामा आवश्यक कागजातसहित कार्यरत कर्मचारीहरूले २०८३ साल पुस १० गतेभित्र आवेदन फाराम दर्ता गराउनुपर्ने उल्लेख गरिएको छ। तोकिएको समयभित्र आवेदन दर्ता नगराए कार्यालय जवाफदेही नहुनेसमेत सूचनामा जनाइएको छ।
तहवृद्धि तथा स्तरवृद्धिका लागि आवेदन दिँदा कर्मचारीहरूले सेवा अवधि पुष्टि हुने नियुक्ति, बढुवा वा स्तरवृद्धि पत्र तथा रमाना पत्रको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र, समायोजन भएका कर्मचारीको समायोजन पत्र, कामकाज सरुवा भई आएका कर्मचारीको नियुक्ति तथा कामकाज सरुवासम्बन्धी पत्र र न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ।




