सुधन गुरुङले ५८ लाख १० हजार रुपैयाँको मालपोत राजस्व छलेको आरोप

 

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जग्गा खरिदमा ५८ लाख १० हजार रुपैयाँको मालपोत राजस्व छलेको आरोप लागेको छ । मन्त्री गुरुङले धनकुटा जिल्लाको तत्कालीन कार्कीछाप गाविस वडा नम्बर ५ (हाल साँगुरीगढी गाउँपालिका– ६), कित्ता नम्बर १६७ को १९ रोपनी १५ आना जग्गा खरिद गरेका थिए ।

शिलापत्र डटकमले सो सम्बन्धी समाचार प्रकाशन गरेको छ । समाचारमा गृहमन्त्री गुरुङको सम्पत्ति विवदको विषयमा गठन गरिएको छानविन समितिको प्रतिवेदनलाई कोट गरिएको छ । प्रतिवेदनअनुसार उक्त जग्गा ११ चैत २०८२ मा जुनु लिम्बूबाट गुरुङको नाममा रजिस्ट्रेसन भएको उल्लेख गरिएको छ ।

गुरुङ २०८३ साल १३ चैतमा गृहमन्त्री नियुक्त भएका थिए ।

‘गृहमन्त्री सुधन गुरुङको धनकुटास्थित जग्गा किनबेचमा ठूलो अनियमितता देखिएको छ । उनले ६५ लाख रुपैयाँ खर्च गरेर खरिद गरेको विवरण छानबिन समितिसमक्ष पेस गरेका छन् । तर, त्यही जग्गा मालपोत कार्यालयबाट पास गर्दा ६ लाख ९० हजार रुपैयाँ मात्रै थैली कायम गरिएको छ । वास्तविक कारोबार रकम र सरकारी अभिलेखमा देखाइएको मूल्यबीच ५८ लाख १० हजार रुपैयाँको अन्तर छ,’ समाचारमा उल्लेख छ ।

समाचारमा उल्लेख भएअनुसार थैली कम राखेर जग्गा किनबेच भएको अवस्था भए सो प्रकरणमा मालपोत राजस्व छलि गरेको ठहर हुन सक्छ । जग्गा खरिद विक्रीमा कारोबार रकमको ३ प्रतिशत मालपोत कर तिर्नुपर्छ । तर, महिलाले खरिद गरेमा सो राजस्व रकममा ५ प्रतिशत छुट हुने कानुनी व्यवस्था छ । 

 

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update