काठमाडौँ । गृह मन्त्रालयले ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ ।
मन्त्रालयले मंसिर ११ गते मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयले दिएको जानकारी अनुसार ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय तानिएको छ भने सो स्थानमा मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पठाइएको छ।
अध्यागमन विभाग, कालिकास्थानका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहसचिवमा सरुवा गरिएको छ भने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ।

गृह मन्त्रालय वा अन्तर्गत कार्यरत अन्य ५ जना सहसचिवहरूलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ। जसअनुसार गिता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्र कुमार मिश्रलाई दैलेख, विमल प्रसाद बराललाई महोत्तरी, शिव प्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको सिडिओ बनाएर पठाइएको छ ।




