काठमाडौँ । तपाईं भूमि प्रशासन सम्बन्धी सेवा लिन जिल्लामा रहेको नापी वा मालपोत कार्यालय धाउने योजनामा हुनुहुन्छ ? हो भने केही दिन पर्खनुस् ।
पहिलो कुरा त तपाईंको पालिका (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिका) बाट नै मालपोत र नापी कार्यालयबाट पाइने सेवा प्रवाह भइरहेको हुन सक्छ । त्यसैले जग्गा सम्बन्धी कुनै काम (तिरो तिर्न, नक्सा लिन, नयाँ लापुर्जा बनाउन वा जग्गा किनबेच गर्न) को लागि तपाईं जिल्लाको मालपोत वा नापी कार्यालय जान नपर्ने हुन सक्छ, तपाईंकै पालिकाबाट पाइन सक्छ । दोस्रो, यदि अहिलेसम्म यस्तो सेवा तपाईंको पालिकाले दिइरहेको छैन भने पनि मंसिर १६ गतेपछि अनिवार्य रुपमा पालिकाबाटै सेवा पाइन्छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठ ८ गते सार्वजनिक सुचना प्रकाशन गरी भूमि प्रशासन सम्बन्धी सेवा दिन इच्छुक स्थानीय तहहरुलाई सो सेवा प्रवाहको सहजीकरण गर्ने जानकारी दिएको थियो । सोही सुचना अनुसार देशभरका ३५ स्थानीय तहले सेवा संचालन गरिरहेका छन् ।
दोस्रो चरणमा मन्त्रालयले भूमि प्रशासन सम्बन्धी सबै सेवा स्थानीय तहबाट अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने व्यवस्था गर्यो । सोही व्यवस्था अनुसार मंसिर १६ गतेदेखि सबै स्थानीय तहबाट भूमि प्रशासन सम्बन्धी सेवा अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने भएको छ ।
रोल्पाको रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा भूमि प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह हुँदा सर्बसाधारणलाई ठूलो राहत भएको बताउँछन् । लामो यात्रा गरेर जिल्ला सदरमुकाम धाएर लिनुपर्ने सेवा आफ्नै नजिकको स्थानीय सरकारबाट लिन पाउँनु नागरिकलाई ठूलो राहत भएको उनको भनाइ छ ।
‘नापी र मालपोतका कार्यालयहरु प्राय जिल्ला सदरमुकाममा छन् । दुरदराजका नागरिकले भूमि प्रशासन सम्बन्धी सेवा लिनको लागि लामो यात्रा गरेर जिल्ला सदरमुकाम जानुपर्ने वाध्यता थियो । अब यो समस्या हट्ने भएको छ । सबै स्थानीय तहबाट भूमि प्रशासन सम्बन्धी सबै सेवा पाउँदा नगरिकलाई सहज भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले वडापालिकासँग भने ।
अहिले भूमि प्रशासन सम्बन्धी सेवा पालिकाको कार्यालयबाट मात्रै पाइन्छ । यो सेवा वडा कार्यालयहरुबाट भने पाइदैन ।
स्थानीय तहबाट भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहको व्यवस्था मिलाउन संघ सरकारले प्राविधिक सेवा, पूर्वाधार र जनशक्तिमा सहयोग गरेको छ । यसको लागि मालपोत र नापी कार्यालयबाट प्राविधिक जनशक्ति सहितको टोली सबै स्थानीय तहमा पुग्ने भएका छन् । अपुग हुने कर्मचारीको लागि सम्बन्धित स्थानीय तहले आन्तरिक व्यवस्थापन गर्नुपर्ने र त्यसको खर्चको व्यवस्था संघीय सरकारले मिलाउने प्रबन्ध मिलाइएको छ ।
भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहको लागि मालपोत कार्यालय र नापी कार्यालयले आफ्नो सफ्टवयर प्रणाली नै बनाएका छन् । मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई सम्बन्धित स्थानीय तहहरुलाई प्रणालीको युजरनेम र पासवर्ड उपलब्ध गराउन भनिसकेको छ । युजरनेम र पासवर्ड नपाएका स्थानीय तहहरुले यी दुबै विभागमा पत्राचार गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ ।




