धनतेरशमा सुनचाँदी किन्ने नेपालीले अहिलेसम्म कति घाटा खाए ?

 

काठमाडौँ । पछिल्लो समय धनतेरशको दिन सुन, चाँदी, तामा लगायत धातु खरिद गर्ने प्रचलन नेपालमा पनि बढ्न थालेको छ । तिहारको यमपञ्चक सुरु हुनअघिको धनतेरशको मौका पारेर नेपाल राष्ट्र बैंकले सुनका असर्फी पनि विक्री गर्ने गरेको छ ।

तर, यो वर्ष असाध्यै अस्थीर देखिएको सुनचाँदी बजारका कारण नेपालीले सुनमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको हाराहारीमा नोक्सानी व्यहोरेको तथ्यांकले देखाएको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार चालु आर्थिक वर्षको सुरुको दिन अर्थात साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ थियो । आज मंसिर ४ गते सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ छ । यो अवधिमा सुनको मूल्य प्रतितोला ३६ हजार ७ सय रुपैयाँले कम भएको पाइन्छ ।

व्यवसायीका अनुसार नेपालमा सुनको कारोबारमा ५० प्रतिशत जति सुन अनौपचारिक बजार र पुरानो सुनबाट प्राप्त हुन्छ । र, साउनयता व्यवसायीहरुले २ सय केजी सुन बैंकबाट खरिद गरेर विक्री गरेका छन् ।

यो तथ्यांक हेर्दा साउनयता मात्रै नेपाली बजारमा ४ सय केजी सुन विक्री भएको देखिन्छ । ४ सय केजी सुन भनेको ३४ हजार २९४ तोला सुन हो । साउन १ गतेयता सुनको मूल्य प्रतितोला ३६ हजार ७ सय रुपैयाँले घटेकोले यसबीचमा सुन किन्ने नेपालीलाई १ अर्ब २५ करोड ८५ लाख रुपैयाँभन्दा बढी घाटा भइसकेको देखिन्छ ।

धनतेरशमा किन्नेले कति गुमाए ?

धनतेरसमा सुनचाँदी खरिद गर्ने बानीले यसपालि नेपालीलाई ठूलै नोक्सानीमा पारिदिएको छ । कात्तिक २० गते परेको धनतेरशको दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ थियो भने आज (मंसिर ४ गते) प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ छ । यसरी हेर्दा धनतेरशको तुलनामा मंसिर ४ गते सुनको मूल्य प्रतितोला ३७ हजार ६ सय रुपैयाँले घटेको छ ।

यस्तै अवस्था चाँदीको पनि छ । धनतेरशको दिन चाँदीको मूल्य प्रतितोला ३८ सय १० रुपैयाँ थियो भने आज (मंसिर ४ गते) चाँदीको मूल्य प्रतितोला ३१ सय १० रुपैयाँ छ । यो बीचमा चाँदीको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

धनतेरशमा कति विक्री हुन्छ सुनचाँदी ?

धनतेरशको दिन नेपालमा सुनचाँदीको व्यापार कति रकम बराबरको हुन्छ भन्ने यकित तथ्यांक कतै पाइदैन । नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि यस्तो यकिन तथ्यांक नभएको बतायो ।

महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले यसपालिको तिहारमा सुनचाँदीको व्यापार अघिल्ला वर्षहरुको भन्दा ५० प्रतिशत कम भएको बताए ।

‘यसपालि सुनचाँदीको मूल्य धेरै नै अस्थिर रह्यो । धेरै बढ्ने र धेरै घट्ने भयो । यसैकारण अघिल्ला वर्षहरुको भन्दा ५० प्रतिशत कम व्यापार भएको साथीहरुले सुनाएका छन् । यकिन तथ्यांक पाउन नसकिने हुनाले यस्तै अनौपचारिक रुपमा सोधेर बुझ्ने गरिएको छ,’ पूर्वअध्यक्ष शाक्यले वडापालिकासँग भने ।

उनका अनुसार केही वर्षअघि तिहारमा चादीको उच्च माग हुँदा ३ हजार केजीको व्यापार भएको थियो । शाक्यले भने जस्तै यसपालि उच्च मागको तुलनामा ५० प्रतिशत मात्रै व्यापार भएको मान्दा १५ सय केजी चाँदीको व्यापार भएको हुन सक्छ । यसमा पनि धनतेरशको दिनको मूल्यको तुलनामा प्रतितोला ७ सय रुपैयाँ कम भइसकेकोले तिहारमा चाँदी खरिद गर्दा नेपालीलाई करिब ९ करोड रुपैयाँ घाटा लागेको हुन सक्ने देखिएको छ ।

सुन अभाव

पछिल्लो केही दिनयता सुनको मूल्य उच्च गतिमा घट्न थालेपछि नेपाली बजारमा सुनको अभाव देखिएको छ । बैंकहरुले आयात गरेको सुन बाँकी नरहेको र यही बेला विवाहको सिजन सुरु भएकोले सुनको अभाव भएको हो । अहिले विवाहको लागि सुनका गहनाको अर्डर आउने गरेपनि सुन नपाइने भएकोले अर्डर लिन नसकिएको पूर्वअध्यक्ष शाक्यले बताए । बैंकहरुले भने सोमवारदेखि मात्रै सुन नेपाल आउने बताएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update