काठमाडौँ । नेपालको प्रशासकीय केन्द्र सिंहदबार प्रवेशका लागि निश्चित मापदण्ड तोकिएको छ । सरकारी कर्मचारीका अलावा पत्रकार र कानुन व्यवसायी सिंहदबार आउजाउ गर्न सहज छ ।
तर, सर्वसाधारणको लागि भने सिंहदरबार प्रवेश अलि अप्ठेरो छ । सिंहदबार भित्रको कुनै मन्त्रालय वा निकायले पास पठाएपछि मात्रै सर्वसाधारणले सिंहदरबारभित्रको प्रवेश पाउँछन् ।
तर, विवादित पृष्ठभूमिका भेषराज लुइटेलको विदाका दिन बाहेक अधिकांश समय सिंहदरबारभित्रै बास हुन्छ । विभिन्न मन्त्रालय र निकायको क्यान्टिनका उनी ‘नियमित ग्राहक’ जस्तै हुन् । विभिन्न मन्त्रालयहरुका कर्मचारीहरुले दिएको जानकारी अनुसार कार्यालय समयमा उनी चाहेको मन्त्रालयको महाशाखा पसेर कर्मचारीहरुलाई ‘नेपाल बनाउनु पर्छ’ भन्ने उपदेश दिन छुटाउदैनन् ।
‘सिंहदरबारभित्र विभिन्न क्षेत्रका मानिसहरु मन्त्री, सचिव र सहसचिवहरुलाई भेट्न आइरहेका हुन्छन् । ती मानिसहरुलाई भेषराजको उदेश्य मन्त्री र सरकारी कर्मचारीसँग मेरो राम्रो चिनजान छ भन्ने देखाउनु हुने रहेछ । जब बाहिरका मानिससँग मन्त्रालयमा मिटिङ वा भेटघाट धेरै हुन्छ, तब उनी कामै नपरेपनि जवरजस्ती भित्र पसेर ‘तपाईं मिटिङमा हुनुहुँदो रहेछ, म पछि आउँछु है’ भनेर फर्कन्छन् । यसो गर्दा पहुँच भए जस्तो देखिने रहेछ,’ एक मन्त्रालयका सहसचिवले नाम उल्लेख नगर्ने शर्तमा भने ।
सरकारी कर्मचारीहरुलाई सरुवा बढुवा गराइदिने, अख्तियारमा मुद्दा हालिदिने, सम्पत्ति शुद्धीकरणको अभियोग लगाइदिने जस्ता आश र त्रास देखाएर उनले दबाबमा राख्ने गरेको स्रोतहरुको भनाइ छ ।
तर, अचम्मको कुरा के छ भने भेषराज लुइटेल कसरी सिंहदरबार प्रवेश गर्छन् भन्ने धेरैलाई थाहा नै छैन । केही समयअघि उनी तत्कालिन शहरी विकास मन्त्रालयबाट ‘एसी मर्मत गर्ने प्राविधिक’को पास बनाएर सिंहदबार प्रवेश गर्ने गरेका स्रोतले जानकारी दियो । तर, पछिल्लो समय सो मन्त्रालय पूर्वाधार विकास मन्त्रालय बनेपछि उनको पास स्वतः रद्द भएको र नयाँ पास नदिएको मन्त्रालय स्रोतले जानकारी दियो ।
सिंहदरबारभित्रका मन्त्रालय र निकायले कसकसलाई पास दिएका छन् भनेर सबै मन्त्रालय र निकायबाट गृह मन्त्रालयले विवरण लिइसकेको छ । सुधन गुरुङ गृहमन्त्री बनेपछि यो विवरण लिइएको हो । पेशेवर रिट निवेदक र ठूला व्यवसायीसँग मुद्दा मामिलाको धम्की दिएर ब्ल्याकमेल गर्दै रकम असुल गर्ने कार्यमा संलग्न लुइटेलले नक्कली पास प्रयोग गरेर सिंहदरवार प्रवेश गर्ने गरेको स्रोतको दाबी छ । तर, गृह मन्त्रालय भने यस विषयमा मौन छ ।
को हुन लुइटेल ?
भेषराज लुइटेल कार्यालय समयमा प्रायः सिंहदरबारभित्र भेटिन्छन् । सरकारी कर्मचारीहरु उनलाई ‘पहुचवाला व्यक्ति’ भनेर चिन्छन् । ठूला पब्लिक कम्पनी र ठूला करदाताहरु भने उनलाई ‘व्यवसायिक ब्ल्याकमेलर’का रुपमा चिन्छन् ।
उनी आफूलाई कही कानुन व्यवसायी भनेर चिनाउँछन् भने कही सामाजिक अभियान्त, कही चार्टर्ड एकाउन्टेन्ट (सिए) र कतै भ्रष्टाचार विरोधी ‘देशभक्त’ ।
खासमा उनी भूतपूर्व चार्टर्ड एकाउन्टेन्ट हुन् ।
लुइटेलले २०६० सालतिर काठमाडौँको ठमेलमा बि.आर. लुइटेल एण्ड को. नामक अडिट फर्म खोलेर व्यवसायिक लेखापरीक्षण थालेका थिए । तर, व्यवसायिक आचरण विपरित कार्य गरेको उजुरी परेपछि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले २०६५ साल असार ३ गते उनलाई नसियत दियो । त्यसपछि लुइटेल अडिट फर्म बन्द गरेर अन्य कार्यतर्फ लागेका वडापालिकाको अनुसन्धानले फेला पारेको छ ।
लेखापरीक्षणको लागि कम्पनी ऐनले तोकेको योग्यता भएको लेखापरीक्षक हुनुपर्छ । कम्पनी ऐनमा आइक्यानले कारवाही गरेको व्यक्ति वा फर्मले ३ वर्षसम्म लेखापरीक्षण गर्न नपाउने भन्ने व्यवस्था गरिएको छ ।
पेशेवार रिट निवेदक
पछिल्लो समय लुइटेल पेशेबार रिट निवेदकको रुपमा देखापरेका छन् । सर्वाेच्च अदालतमा अहिले पनि उनले दर्ता गरेका १० भन्दा बढी रिट निवेदन छन् । एउटा रिट निवेदन सर्वाेच्च अदालतबाट अन्तिम टुंगोमा पुग्नको लागि कम्तिमा ५ लाख रुपैयाँ खर्च लाग्ने कानुन व्यवसायीहरु बताउँछन् । तर, देखिनेगरी कुनै पेशा व्यवसायमा संलग्न नरहेका लुइटेलले यति धेरै रिट निवेदन कसरी धानिरहेका छन् भन्ने अर्काे अनौठो पक्ष पनि छ ।
लुइटेल आफूले सर्वाेच्चमा दर्ता गरेका अधिकांश रिट निवेदनमा आफै बहस गर्छन् । तर, उनी कानुन व्यवसायी होइनन् । मुद्दा हाल्ने व्यक्ति र मुद्दा हालिएको वा अभियोग लागेको व्यक्तिले आफ्नो पक्षबाट आफै पनि बहस गर्न दिने अभ्यास अदालतमा हुन्छ । अदालतको यही अभ्यासको सुविधा प्रयोग गर्दै लुइटेलले आफूले हालेका मुद्दामा आफै बहस गरेर कानुन व्यवसायी भएको भ्रम सिर्जना गर्न सकेका छन् ।
‘पहुँचवाला छवि’
लुइटेलको अर्काे सबैभन्दा महत्वपूर्ण पहिचान सिंहदरबारको पहुच हो । सिंहदरबार प्रवेश गर्नको लागि सरकारी कर्मचारी, कानुन व्यवसायी, पत्रकार वा भित्रको कुनै मन्त्रालयबाट पास पठाउनु पर्छ । तर, लुइटेल भने चाहेको बेलामा सिंहदरबार प्रवेश गर्ने गरेका छन् । उनको अधिकांश समय सिंहदरबारभित्रका नेपाल टेलिभिजनको क्यान्टिनमा वित्छ भने उनी विभिन्न मन्त्रालयमा छिरेर सहसचिव र सचिवसँग फोटो खिच्ने र सो फोटो सामाजिक संजानमा राखेर आफ्नो पहुँच देखाउने कार्यमा संलग्न छन् ।
ठूला करदातासँग ‘ब्ल्याकमेल’
अहिले भेषराज लुईटेल नाम गरेका एक व्यक्तिले आफूहरुलाई ब्ल्याकमेल गरेको भन्ने व्यवसायीको संख्या ठूलो भएको छ । व्यवसायिक फर्महरुको कमजोरी देखिने ठाउँमा समाउने र रकम माग गर्ने, मागे अनुसारको रकम नदिए मुद्दामामिला दर्ता गराएर अनावश्यक हैरानी दिने उनको दैनिकी जस्तै बनेको छ ।
लुइटेलले एभरेष्ट होटल, हायात रिजेन्सी होटल, डोल्मा फण्ड, एनसेल आजियाटा, कालिन्चोक केवलकार जस्ता व्यवसायिक फर्म विरुद्ध मुद्दा दर्ता गरेर रकम माग गरेका स्रोतको भनाइ छ । लुइटेलले दर्ता गरेका १० वटा रिट निवेदन सर्वाेच्च अदालतमा न्यायिक प्रक्रियामा छन् ।
विवादित विगत
लुइटेलको विगत विवादित छ । उनको सिएको लाइसेन्स खारेज भएको छ भने ग्यालेक्सी स्कुलकी संचालिका गीता राणाकी छोरी ज्योत्सना सिंहले लुइटेल विरुद्ध बैंकिङ कसुरको मुद्दा हालेपछि उनी लामो समय भारतमा लुकेर बसेका थिए ।
सिंहको काम गराइदिने भन्दै उनले लाखौं रकम लिए पनि काम गर्न नसकेपछि लुईटेलले नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिए । सो चेक बाउन्स भएपछि पीडितले प्रहरी परिसर, टेकुमा उजुरी दिइन । सिँहको उजुरीको आधारमा निजलाई प्रहरीले पक्राउ गरि बैकिङ् कसुरमा अदालतमा मुद्दा दायर गर्यो । काठमाडौं जिल्ला अदालतमा सिंहले दिएको मुद्दामा उनी दोषी ठहर भए । तर, लुइटेलले पनि सो मुद्दाको पुनरावेदन अदालतमा पुनरावेदन दर्ता गरे भने सोही समयमा रकम तिरेर सफाइ लिन सफल भए ।
सम्बन्धित समाचार
पेशेवर रिट निवेदक तथा ब्ल्याकमेलरको सेल्टर सिंहदरबार



