काठमाडौँ । सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको गाडी सुविधा खोसेका छन् भने कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत गिरी दशैविदा लामो समय बसेको भन्दै मेयर कार्कीले उनीमाथि कारवाही गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत गिरी दसैँ बिदापछि बिहीबार मात्रै कार्यालयमा हाजिर हुन पुगेकी थिइन् । हाजिर हुन ढिला गएपछि उनी चढ्दै आएको गाडीको सुविधा खोस्दै मेयर कार्कीले कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् ।
मेयर कार्की पक्षले भने प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली र व्यवहारप्रति व्यापक गुनासो आएको बताएको छ । मेयर तथा अन्य जनप्रतिनिधिहरुलाई जानकारी गराउनु पर्ने विषयमा जानकारी नगराउने, सेवाग्राहीबाट व्यापक गुनासो आउँदा पनि कार्यशैली सुधान नगर्ने जस्ता समस्या देखिएपछि नगरपालिकाको कार्यपालिका बैठकले प्रमखु प्रशासकीय अधिकृत गिरीलाई हाजिर नगराउने निर्णय गरेको थियो ।
‘कात्तिक १० गते कार्यपालिका बैठक बसेर प्रमुख प्रशासकीय अधिकृत गिरीलाई हाजिर नगराउने निर्णय गरेको थियो । सो सर्वसम्मत निर्णय कार्यान्वयन गर्न उहाँ (प्रमुख प्रशासकीय अधिकृत गिरी) लाई हाजिर नगराइएको हो, हाजिर नगराएपछि उहाँलाई गाडी सुविधा दिने भन्ने विषय पनि रहेन,’ मेयर कार्की पक्षका एक अधिकारीले वडापालिकासँग भने ।
यद्यपि, प्रमुख प्रशासकीय अधिकृत गिरी अहिले पनि नगरपालिकाको क्वाटरमा बसिरहेको उनको भनाइ छ ।
के भयो हिजो ?
प्रमुख प्रशासकीय अधिकृत गिरी कात्तिक १२ गते हाजिर गर्न नगरपालिका गएकी थिइन् । मेयर कार्की पक्षले दिएको जानकारी अनुसार उनी इटहरीबाट हतियारसहित प्रहरी लिएर कार्यालय पुगेकी थिइन् ।
‘हतियारधारी प्रहरी लिएर आउने भएको थियो, किन हतियारधारी जत्था लिएर आउनु भयो भनेर हामी पनि अचम्ममा परेका थियौं,’ मेयर निकट स्रोतले भन्यो ।
लामो समयदेखि विवाद
प्रमुख प्रशासकीय अधिकृत गिरी र मेयरबीच यसअघि नै विवाद भएको पाइएको छ । गत चैतदेखि गिरी वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिइन् ।
मेयर कार्कीले दशैविदा सुरु हुनुभन्दा २ दिनअघि कार्यपालिका बैठक राखेका थिए । उनले विहान ८ बजेका लागि बैठक राखेकामा प्रमुख प्रशासकीय अधिकृत गिरी सोही दिन विहान ६ बजे नै विदा लिएर हिडेकी मेयर पक्षको भनाइ छ ।



