काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयक नचलाई कर्मचारीको अवकाश सम्बन्धी नयाँ व्यवस्था लागू गर्न खोजेको छ ।
सरकारले निजामती सेवा विधेयकलाई संसदमा दर्ता रहेकै अवस्थामा नयाँ व्यवस्था गर्न लागेको हो । सो विधेयक अहिले प्रतिनिधिसभामा छ ।
सरकारले केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत निजामती कर्मचारीको अवकाश उमेर र सेवा अवधिसम्बन्धी व्यवस्था परिवर्तन गर्ने तयारी गरेको कर्मचारी स्रोतको भनाइ छ ।
सो अध्यादेशमा हाल कार्यरत निजामती कर्मचारीका लागि ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि लागू गर्ने व्यवस्था राखिएको स्रोतको दाबी छ ।
यद्यपि, यस्तो अध्यादेश सरकारले जारी गरेको छैन । मन्त्रिपरिषदले पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको पनि छैन । तर, कर्मचारी स्रोतहरु भने केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत ५५ वर्ष उमेर पुगेका वा सेवा अवधि ३० वर्ष पुगेका कर्मचारीलाई अवकाश दिन लागिएको बताउँछन् ।
हुन त सरकारले यसअघि नै प्रतिनिधिसभामा दर्ता गराएको संघीय निजामती सेवा विधेयकमा पनि ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था राखिएको थियो । तर, सो विधेयक अहिले प्रतिनिधिसभामा विचाराधिन छ । उक्त विधेयक पारित हुने प्रतीक्षा नगरी अध्यादेशबाटै यी व्यवस्था कार्यान्वयन गर्ने तयारी अघि बढाइएको हो।
अहिले प्रतिनिधिसभामा रहेको संघीय निजामती सेवा विधेयकमा ऐन प्रारम्भ हुँदाका बखत ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव छ। यी दुईमध्ये जुन सर्त पहिले पूरा हुन्छ, त्यसैका आधारमा कर्मचारी अवकाश हुनेछन्। त्यसपछि सेवामा रहने तथा नयाँ नियुक्त हुने कर्मचारीका लागि भने अनिवार्य अवकाश उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव विधेयकमा छ। यो व्यवस्था व्यवस्था लागू भए करिब ९० प्रतिशत सचिव एकैपटक अवकाशमा जाने आकलन गरिएको छ ।



