काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा विधेयक संसदमा पुगेपछि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन् ।
सामाजिक संजाल फेसबुक मार्फत मन्त्री रावलले यो विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहीतामा प्याराडाइम सिफ्ट गर्ने विश्वास गरेकी छन् । उनले सो विधेयकलाई गहन अध्ययन तथा व्यापक छलफलपश्चात् अन्तिम रूप दिइएको बताइन् ।
‘यसले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउँदै कार्यसम्पादन र जवाफदेहितामा प्याराडाइम सिफ्ट ल्याउने अपेक्षा गरिएको छ। साथै, संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्नुका साथै सुशासन र सार्वजनिक प्रशासन सुधारको दिशामा पनि यो महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास लिएका छौँ,’ मन्त्री रावलले लेखेकी छन् ।
उनले विधेयकलाई अन्तिम रूप दिन खटिने मन्त्रालयका कर्मचारीहरु, विज्ञ, सरोकारवाला तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेकी छन् ।
‘अब यो विधेयक सार्वभौम संसद्को जिम्मामा पुगेको छ। संसद्मा हुने गहन छलफल र आवश्यक प्रक्रियापश्चात् विधेयक छिट्टै पारित भई नेपालको सार्वजनिक प्रशासनलाई अझ सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने बलियो जग बसालोस् भन्ने अपेक्षा छ,’ मन्त्री रावलले लेखेकी छन् ।
यस्तो लेखिन मन्त्री रावलले
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा मैले केही स्पष्ट प्राथमिकता तय गरेकी थिएँः सहकारीपीडितको बचत फिर्ता प्रक्रिया सुरु गरी अघि बढाउने, भूमिहीनलाई लालपुर्जा वितरण सुरु गरी सधैँका लागि समाधान गर्ने गरी गति दिने, लामो समयदेखि पारित हुन नसकेको संघीय निजामती सेवा विधेयकलाई टुंगोमा पुर्याउने तथा सार्वजनिक प्रशासन सुधार र सुशासनका लागि बलियो आधार निर्माण गर्ने साथै, भूमि प्रशासनलगायतका क्षेत्रमा व्यापक डिजिटलाइजेशन र अटोमेशन मार्फत सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य पनि अघि सारेकी थिएँ।
यी प्राथमिकतामध्ये अधिकांश कामको सुरुवात भइसकेको छ र अब हामी त्यसलाई अझ तीव्र गतिमा अघि बढाउने चरणमा प्रवेश गर्दैछौँ। यसै क्रममा, लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक आज सार्वभौम संसद्को जिम्मामा पुर्याएका छौँ।
यो विधेयकलाई गहन अध्ययन तथा व्यापक छलफलपश्चात् अन्तिम रूप दिइएको हो। यसले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउँदै कार्यसम्पादन र जवाफदेहितामा प्याराडाइम सिफ्ट ल्याउने अपेक्षा गरिएको छ। साथै, संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्नुका साथै सुशासन र सार्वजनिक प्रशासन सुधारको दिशामा पनि यो महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास लिएका छौँ।
यस विधेयकलाई अन्तिम रूप दिन खटिनुहुने मन्त्रालयका सम्पूर्ण साथीहरू, विज्ञ, सरोकारवाला तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद।अब यो विधेयक सार्वभौम संसद्को जिम्मामा पुगेको छ। संसद्मा हुने गहन छलफल र आवश्यक प्रक्रियापश्चात् विधेयक छिट्टै पारित भई नेपालको सार्वजनिक प्रशासनलाई अझ सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने बलियो जग बसालोस् भन्ने अपेक्षा छ।



