काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घिमिरे र काठमाडौंको कोटेश्वरस्थित गुड नेबर्स इन्टरप्राइजेज प्रालिका सञ्चालक वरुण ढुंगेललाई घुस रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारका अनुसार घिमिरेले ठेक्का सम्झौताबमोजिमको बाँकी किस्ता तथा मोबिलाइजेसन फन्डको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएको र बाँकी काममा समेत सहयोग गर्ने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।
घुस मागेको सूचनाका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ३३ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो। उनीहरूलाई भक्तपुर नगरपालिका वडा नम्बर ९, निकोसेरास्थित क्षेत्रबाट २०८३ कात्तिक १६ गते पक्राउ गरिएको अख्तियारले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। अख्तियारका अनुसार उनीहरूलाई कात्तिक १७ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको छ।



