कागेश्वरी मनोहराका इन्जिनियर कार्कीसहित दुई जना ६४ हजार घुससहित पक्राउ

 

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्की र घुस रकम लिन मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

स्टक्चर एनालाइसिसको कामम स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस रकम मागिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

आयोगका अनुसार भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत दिपा कार्कीले सेवाग्राहीसँग रकमका लागि बार्गेनिङ गर्दै पटक–पटक दुःख तथा हैरानी दिएको उजुरी परेको थियो। 

सोही आधारमा खटिएको टोलीले दिपा कार्की र रकम बुझेर मध्यस्थको काम गर्ने आस्मा कार्कीलाई ६४ हजार रुपैयाँसहित कागेश्वरी मनोहरा नगरपालिका–थली, डाँछीस्थित कार्यालयबाट नियन्त्रणमा लिएको हो।

उनीहरूलाई २०८३ भदौ १५ गते पक्राउ गरिएको अख्तियारले जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

अख्तियारका अनुसार दुवै जनालाई २०८३ भदौ १६ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update