काठमाडौं । दाङमा पूर्व–पश्चिम राजमार्गको सडक क्षेत्राधिकारभित्रका रूख कटान गरी सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार दाङको राप्ती गाउँपालिका–१ पाखापानीदेखि लमही नगरपालिका–४ अर्नहवासम्म राजमार्गको दायाँ–बायाँ सडक क्षेत्राधिकारभित्र सिमल, सिसौलगायत विभिन्न जातका २ हजार ७२४ वटा रूख कटान भएको अनुसन्धानबाट खुलेको छ।
कटान गरिएका रूखबाट ४० हजार ५५५ घनफिट काठ बराबरको सरकारी सम्पत्तिमा ८१ लाख ३७ हजार ९ सय रुपैयाँ हानिनोक्सानी भएको आयोगले जनाएको छ। कानुनी प्रक्रिया पूरा नगरी सडक क्षेत्राधिकारभित्र पर्ने रूख कटान तथा काठ ओसारपसार गरिएको आयोगको निष्कर्ष छ।
आयोगले सडक डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख राम पुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्री विरुद्ध जनही ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बिगो कायम गरेको छ। उनीहरूविरुद्ध बिगोबमोजिम जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गरिएको छ।
त्यस्तै, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट विरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपैयाँ, वडा नं. १ का अध्यक्ष गेमे खड्का विरुद्ध ३ लाख ७१ हजार र वडा नं. ४ का अध्यक्ष वीरबहादुर चौधरी विरुद्ध १ लाख ४१ हजार २२६ रुपैयाँ बिगो कायम गरिएको छ।
यसैगरी अभिमान चौधरी, नन्दु गिरी, झविन्द्रप्रसाद भण्डारी र केशरबहादुर चौधरीलाई मुख्य कसुरदारले गरेको कसुरजन्य कार्यबाट नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्न सहयोग गरेको आरोपमा प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध समेत बिगो कायम गरी कानुनबमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको आयोगले जनाएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअनुसार सजाय तथा हानिनोक्सानी भएको बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।




