इनमको उजुरीः दानबहादुर विरुद्धको प्रमाण कि आफूमाथि ज्याजति भएको जानकारी ?

 

काठमाडौँ । विचौलिया भन्दै प्रचार गरेर प्रहरी हिरासतमा राखिएका इनम सापकोटाले आफू र आफ्नो परिवारको जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएपछि यो विषय पुनः चर्चाको केन्द्रमा रहेको छ ।

सापकोटाले आफूलाई पक्राउ गरेपछि आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थलमा लगेको र विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा न्यायाधीशविरूद्ध प्रमाण र बयान दिन दबाब दिएको उल्लेख गर्दै आयोगमा निवेदन दिएका छन् ।

यति मात्रै होइन, उनले दिएको उजुरीमा प्रहरीमाथि पनि गम्भीर आरोप लगाइएको छ । प्रहरीले आफैले लेखेर तयार पारेको सामग्री पढ्न लगाएको र त्यसैको अडिओ रेकर्ड गरी काटछाँट गरेर सार्वजनिक गरेको दाबी सापकोटाको छ । प्रहरी हिरासतमा रहेका सापकोटाको भनिएको बयानका केही अडियो केही अघि सार्वजनिक भएका थिए ।

उनले प्रहरीले आफूलाई फसाउन मोबाइल फोनमा छेडखानी गरी झूटा प्रमाण सिर्जना गरेको र अनुसन्धानका सामग्री बाहिर चुहाएर आफ्नो मिडिया ट्रायल गरेका उल्लेख गरेृका छन् । सापकोटाको मोबाइल प्रहरी हिरासतबाट प्रधानमन्त्री वालेन्द्र शाहमा प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन्जनकारको घरमा लगिएको भन्दै सामाचारहरु सार्वजनिक भएका थिए ।

सापकोटा अहिले प्रहरी हिरासतमा छन् । सोही कारण उनको तर्फबाट उनकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा पाँच पृष्ठ लामो निवेदन दर्ता गराएकी हुन्।

निवेदनमा सापकोटाले आफू पक्राउ परेदेखि प्रहरीले बयान लिँदासम्मका घटनाक्रम सिलसिलेवार रूपमा उल्लेख गरेका छन्।

प्रहरीले सापकोटालाई गत असोज १४ गते भारतको नयाँदिल्ली जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जनाएको थियो । त्यस दिन बिहान करिब साढे १० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान घरबाट निस्केका सापकोटालाई विमानस्थलमा बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचस्थलमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनलई नियन्त्रणमा लिएपछि प्रहरीले उनीसँग भएका दुईवटा मोबाइल फोन खोसेको थियो। 

असोज १४ गतेदेखि १५ गते साँझसम्म आफूलाई कहाँ राखिएको थियो भन्ने जानकारीसमेत नदिएको सापकोटाको निवेदनमा उल्लेख छ । सो अवधिभर आफूलाई आँखामा कालो पट्टी बाँधेरै राखिएको र विभिन्न व्यक्तिबारे सोधपुछ गरिएको सापकोटाको जिकीर छ ।

सापकोटाले आफूमाथि सोधपुछ गर्ने क्रममा प्रहरीले विभिन्न राजनीतिक, व्यावसायिक तथा न्यायिक क्षेत्रका व्यक्तिहरूको नाम लिएको निवेदनमा उल्लेख गरेका छन्।

प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशविरूद्ध प्रमाण र बयान दिन दबाब दिएको उनको निवेदनमा उल्लेख छ । ती व्यक्तिविरूद्ध प्रमाण र बयान दिए आफूलाई छाडिदिने, नत्र आफू मात्र नभई परिवारलाई समेत नराम्रो हुने धम्की दिएको आयोगमा बुझाइएको निवेदनमा उल्लेख गरिएको छ ।

आफूले नमानेपछि प्रहरीको तर्फबाट लामो समय जेल बस्नुपर्ने गरी झूटा मुद्दा लगाउने, आफ्नो र परिवारको जिउज्यान खतरामा पार्ने तथा सम्पूर्ण परिवारलाई समस्यामा पार्ने धम्की आएको उनले दाबी गरेका छन् ।

दानबहादुर विरुद्धको प्रमाण कि आफूमाथि ज्याजति भएको जानकारी ?

सापकोटाले आयोगमा निवेदन दिएपछि सो प्रकरण पुनः चर्चामा आएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर सरकारले डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको छ । आफूलाई गैरकानुनी रुपमा हटाएको दाबी गर्दै कार्की रिट लिए सर्वाेच्च अदालत गएका छन् । यद्यपि, सर्वाेच्च अदालतले उनको माग बमोजिम अन्तरिम आदेश जारी गरेको छैन । सो विषय अदालतमा विचाराधिन नै छ ।

अहिले नेपाल प्रहरीमा कार्की र केसीको पक्षमा तर्कवितर्क हुने गरेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा सापकोटाको मोबाइल पुर्याइएको खबर कार्कीले सार्वजनिक गरेको आरोप केसी पक्षले लगाएको छ । सो आरोपका कारण पनि सरकारले कार्कीलाई महानिरीक्षकबाट हटाएको थियो । सापकोटाको मोबाइल बेन्जनकारको घरमा पुगेको विषयले प्रधानमन्त्री शाहसमेत अप्ठेरोमा परेका छन् ।

सापकोटालाई हिरासतमा लिइएको केही दिनपछि सापकोटा नेपालकै सबैभन्दा ठूला र प्रभावकारी फिक्सर जसरी चर्चा चलाइएको थियो । यो काम पनि सापकोटाले गराए, त्यो काम पनि सापकोटाले गराए, यसो पनि साकोटाकै कारण भयो, त्यसो पनि सापकोटाकै कारण भयो भनेर इनम सापकोटाले जे चाह्यो त्यो सबै भएको भन्ने जसरी चर्चा चलाइएको थियो ।

प्रहरी महानिरीक्षकबाट कार्की हटेसँगै अब सापकोटा केही होइनन्, उनीमाथि अन्याय भएको छ भन्ने चर्चा बटुल्न नयाँ फण्डा रचिएको त होइन भन्ने शंका उत्पन्न भएको छ ।
inam1-1795830966.jpeg
inam2-1795830966.jpeg
inam3-1795830968.jpeg
inam4-1795830969.jpeg
inam5-1795830970.jpeg
 

 

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update