विदेश जाने बेलामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई नभेट्दा राजावादीले दिए धन्यवाद

 

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको राजकीय भ्रमण गर्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता नगरेको विषयलाई राजावादीले ‘धन्यवाद’ भनेका छन् ।

राजासहितको प्रजातन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री शाहले भारत भ्रमणअघि राष्ट्रपतिलाई नभेट्नुले यो देशमा राजा चाहिन्छ भन्ने मतलाई बहसको केन्द्रमा ल्याएको भन्दै धन्यवाद दिएकी हुन् । 

उनले सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै प्रधानमन्त्री शाहलाई धन्यवाद भनेकी हुन् । उनले लेखेकी छन्ः

प्रधानमन्त्री बालेन शाहज्युलाई विशेष धन्यवाद ! राजसंस्थाको औचित्यमाथि हामीले वर्षौंदेखि उठाउँदै आएको प्रश्नलाई यहाँले आफ्नै व्यवहारबाट पुनः बहसको केन्द्रमा ल्याइदिनुभएकोमा! 

विदेश जानु अगाडि प्रधानमन्त्रीले राष्ट्रप्रमुखलाई भेट्ने संविधानमा निहित रहेको परम्परालाई तोड्नुभएको छ। राष्ट्रप्रमुखको संवैधानिक संस्थालाई समेत उचित सम्मान र मर्यादा दिन नसक्ने कस्तो व्यवस्था, र कस्तो संस्थागत संरचना गणतन्त्रले निर्माण गरेछ त ? आज राष्ट्रमा राजा भएको भए प्रधानमन्त्रीले राष्ट्रप्रमुखको गरिमा बेवास्ता गर्दै यसरी अघि बढ्न सक्नुहुन्थ्यो होला त ? त्यसैले हामीले भन्यौँ, देशलाई शक्तिशाली प्रधानमन्त्री मात्र होइन, राज्यका सबै संस्थालाई मर्यादामा राख्ने अभिभावकीय राजसंस्था पनि चाहिन्छ। प्रधानमन्त्रीज्यू, हाम्रो बहसलाई थप सान्दर्भिक बनाइदिनुभएकोमा फेरी पनि धन्यवाद दिन चाहन्छौँ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update