काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी कञ्चन बिच्छा साहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ । बिहीबार बसेको राप्रपाको अनुशासन समितिको बैठकले बिच्छालाई सांसद पदबाट हटाएर पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अध्यक्ष राजेन्द्रलिङ्देनसमक्ष सिफारिस गरेको हो ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, यसअघि नै पार्टीले बिच्छालाई विवादित सरकारमा पार्टीसँग छलफल नै नगरी सहभागी भएको विषयमा स्पष्टीकरण सोधेको थियो । तर, २४ घण्टा बितिसक्दा पनि जवाफ नआएछि कारबाही सिफारिस गरिएको हो ।
विवादितरूपले गठन भएको एमालेका सरोज यादव नेतृत्वको सरकारमा बिच्छा सल्लाहबिनै मन्त्री बनेपछि लिङ्देनले कात्तिक २४ गते सामाजिक सञ्जालबाट उनलाई फिर्ता हुन भनेका थिए ।
तर, बिच्छाले फिर्ता हुन नमानेपछि केन्द्रीय अनुशासन समितिमार्फत कारबाही प्रक्रिया सुरु गरिएको स्रोत बताउँछ ।





