बगरमा खेती गर्न अनुदान दिदै कृषि ज्ञान केन्द, किसानसँग मागियो आवेदन

 

काठमाडौँ । कृषि ज्ञान केन्द्र बाराले बगरमा खेती गर्न किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । केन्द्रको वार्षिक कार्यक्रम अन्तरगत किसानलाई बगर खेतीमा सहयोग कार्यक्रम अन्तरगत अनुदान दिन लागिएको हो ।

केन्द्रको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ‘बगर खेतीमा सहयोग’ कार्यक्रम सञ्चालन गर्ने लागिएको निमित्त प्रमुख राजनारायण प्रसाद साहले जानकारी दिए । उनका अनुसार केन्द्रले कार्यक्रमबाट लाभ लिन इच्छुक कृषकलाई आवश्यक कागजातसहित आवेदन दिन आह्वान गर्दै सार्वजनिक सुचना पनि प्रकाशन गरिएको छ ।

कृषि ज्ञान केन्द्र बाराद्वारा प्रकाशित सूचनाअनुसार कार्यक्रमका लागि सूचना प्रकाशित भएको मितिले २६ दिनभित्र अर्थात् २०८३ कात्तिक २० गतेसम्म आवेदन दिन भनिएको छ । कार्यक्रमअन्तर्गत बगर खेती गर्न इच्छुक कृषकलाई आवश्यकताका आधारमा सहयोग उपलब्ध गराइने जनाइएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुक कृषकले कृषि ज्ञान केन्द्रले तोकेको ढाँचामा निवेदन, कम्तीमा ४ कठ्ठा जग्गामा लगाइएको वा लगाइने बालीको क्षेत्रफल खुल्ने कागजात, नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित स्थानीय तहको सिफारिस तथा प्रस्तावित योजनाको लागत अनुमानसहितको विवरण पेस गर्नुपर्नेछ।

केन्द्रले बगर खेतीमा सहयोग कार्यक्रमसँगै अन्य कृषि विकासका कार्यक्रमका लागि पनि आवेदन माग गरेको छ। सूचनामा उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम र बजार प्रवर्द्धन कार्यक्रमसमेत समेटिएका छन्। बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत ई–लोडर, वेयरहाउस, डिजिटल ब्यालेन्स तथा क्यारेटलगायतका सामग्री वा उपकरणसँग सम्बन्धित सहयोग उपलब्ध गराउने व्यवस्था रहेको छ।

अनुदान कार्यक्रम सञ्चालन गर्दा स्वीकृत बजेट, निर्धारित कार्यविधि तथा मापदण्ड अनुसार प्रक्रिया अघि बढाइने केन्द्रले जनाएको छ। साथै, अनुदान प्राप्त गर्ने कृषक वा संस्थाले तोकिएका सर्त पालना गर्नुपर्नेछ।

कार्यक्रमसम्बन्धी थप जानकारी तथा आवेदनको ढाँचा कृषि ज्ञान केन्द्र बाराको कार्यालयबाट वा केन्द्रको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।

इच्छुक कृषकलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न कृषि ज्ञान केन्द्र बाराले आग्रह गरेको छ।

 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update