काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको छ ।
मंसिर ९ गते मन्त्री प्रतिभा रावलले प्रमुख प्रशासकीय अधिकृत परितर्वन गरेकी हुन् ।
मन्त्रालयले धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मालाई सरुवा गरेर नापी विभाग काठमाडौँ ल्याएको छ । यस्तै, गुल्मीको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तलाई जिल्ला समन्वय समितिको कार्यालय बैतडी लगिएको छ भने सो नगरपालिकामा नापी विभाग काठमाडौँमा कार्यरत परमानन्द घिमिरेलाई पठाइएको छ ।
दाङको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई मन्त्रालयमा तानेर अतिरिक्त समुहमा राखिएको छ । भन्सार विभागमा कार्यरत मातृका आचार्यलाई बाराको कोल्हवी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठलाई अर्थ मन्त्रालय पुर्याइएको छ । भरतपुर महानगरपालिकामा कार्यरत उपसचिव कलाकुमारी गैह्रेलाई सामान्य प्रशासन मन्त्रालय ल्याएर अतिरिक्त समुहमा राखिएको छ ।
हाल अर्थ मन्त्रालयमा कार्यरत बालकृष्ण हुमागाईंलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ भने सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यलाई गृह मन्त्रालय पुर्याइएको छ । सहरी विकास मन्त्रालयमा कार्यरत मन्जु गुरुङलाई जिल्ला समन्वय समितिको कार्यालय मकवानपुर पठाइएको छ भने ओखलढुंगाको लिखु गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत बन्दना श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय लगिएको छ ।
यातायात व्यवस्था विभागमा कार्यरत युवराज न्यौपानेलाई जाजरकोटको कुशे गाउँपालिका लगिएको छ भने सुनसरीको बुर्जु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिलाई गृहमन्त्रालय तानिएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत भानुभक्त बराललाई ओखलढुंगाको लिखु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रबहादुर माझीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको छ । गृह मन्त्रालयमा कार्यरत दीपक कुमार आचार्यलाई धादिङको गजुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।
आन्तरिक राजस्व विभाग काठमाडौँमा कार्यरत रजनिश कुमार दासलाई सुनसरीको बर्जु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ भने बझाङको मष्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीलाई धादिङको सिद्धलेक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । मष्टा गाउँपालिकामा भने काठमाडौँको कलंकी मालपोत कार्यालयमा कार्यरत किरण कुमार केसीलाई पठाइएको छ । जाजरकोटको कुशे गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पे्रमबहादुर बडुवाललाई गृह मन्त्रालय तानिएको छ । कैलालीका यातायात पूर्वाधार निर्देशक नृपराज जोशीलाई जिल्ला समन्वय समिति कन्चनपुर पठाइएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौँमा कार्यरत शाखा अधिकृत माधवप्रसाद बराललाई पर्वतको महाशिला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।




