काठमाडौँ । सोमबार (असोज ५ गते) नेपालको सेयर बजार बन्द रह्यो । अहिले संचालनमा रहेका ७२ वटा ब्रोकरले सर्भर राखेको भनिएको डेटा सेन्टर डाटा हब प्रालिमा समस्या आएपछि सेयर कारोबार बन्द गरेर समस्या समाधानको पहल भइरहेको छ ।
तर, समस्या समाधानको अवस्था कस्तो छ भनेर अहिलेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रगतिविवरण सार्वजनिक गरेको छैन । नेप्सेको वेबसाइटमा अहिले पनि ‘असोज ४ गते विहानदेखि प्राविधिक समस्या आएको र समाधानको पहल भइरहेको भए तापनि हालसम्म समाधान भैनसकेको’ सुचना राखिएको छ ।
नेप्सेलाई पुँजी बजारको फ्रन्ट लाइन रेगुलेटर मानिन्छ । यस्तै, पुँजी बजारको नियामक धितोपत्र बोर्ड हो । बोर्डले एक विज्ञप्ति जारी गरी अनुसन्धानको लागि आफूले पनि समिति गठन गरेको र नेप्सेलाई अनुसन्धान गर्न भनिएको छ ।
अहिलेसम्म सार्वजनिक भएका विवरणले ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या भएको देखाएको छ । डेटा सेन्टर संचालन गर्ने डाटा हब प्रालिले पनि टिएमएसमा समस्या आएको भनेको छ ।
टिएमएसमा समस्या आउनु भनेको ब्रोकरले सेयर कारोबार गर्ने प्रणालीमा मात्रै समस्या आउनु हो । सेयरधनीको विवरण सिडिएसको प्रणालीमा हुन्छ । त्यसमा कुनै समस्या नभएको हो भने सेयरधनीको विवरणमा केही समस्या भएको छैन । टिएमएसमा समस्या आएकोले सेयर कारोबार गराउन नसकिएर कारोबार रोक्नु परेको नेप्सेको भनाइ छ ।
अहिले टिएमएसको मात्रै विषय आएपनि मुख्य विषय नेप्सेको सिस्टमको पनि छ । नेप्सेको सिस्टममा सर्भिलेन्स सिस्टम, म्याचिङ इन्जिन लगायत करिब २ दर्जन मोडलहरु संचालनमा छन् । विभिन्न टिएमएसबाट आएको अर्डर म्याचिङ भयो कि भएन, कसैले कारोबारको क्रममा बद्मासी गरेको छ कि छैन भन्ने जस्ता विषय नेप्सेको सिस्टमले हेर्नुपर्छ ।
तर, वडापालिकाले एउटा रोचक तथ्य फेला पारेको छ । नेप्सेको सिस्टम नेप्सेका आधारिक व्यक्तिले कार्यालयबाट मात्रै संचालन गर्न पाउनु पर्ने हो । वडापालिकाले प्राप्त गरेको एउटा तथ्यमा भने नेप्सेका कर्मचारीका आफन्तले काठमाडौँको निजी कलेजबाट पनि नेप्सेको सिस्टम संचालन गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतबाट प्राप्त जानकारी अनुसार नेप्सेको आइटी विभागमा कार्यरत महिला कर्मचारीका श्रीमानले काठमाडौँमा रहेको सफ्टवरिका कलेजबाट पनि नेप्सेको सिस्टम चलाएको देखिन्छ ।
ती महिला कर्मचारीले विदाको समयमा पारिवारिक भ्रमणमा रहदा पोखराको एउटा रिसोर्टबाट पनि नेप्सेको सिस्टम चलाएको पाइएको छ । यसरी सिस्टम चलाउन अनधिकृत रुपमा भिपिएन प्रयोग गर्ने गरेको प्राप्त कागजातमा उल्लेख छ ।
सरकारले अनधिकृत भिपिएन प्रयोगमा रोक लगाएको छ । भिपिएनको प्रयोग गरी महत्वपूर्ण कागजातमा पहुँच राख्दा सो समयमा ह्याकर सक्रिय भएर त्यस्ता महत्वपूर्ण कागजात वा जानकारी ह्याकरको नियन्त्रणमा पुग्न सक्ने जोखिम हुने आइटी विज्ञहरु बताउँछन् ।
तर, नेप्से र धितोपत्र वोर्डले अहिलेसम्म नेप्सेको सिस्टममा समस्या भएको जानकारी दिएको छैन । यद्यपि, भिपिएन प्रयोग गरेर नेप्सेको प्रणालीमा पहुँच राख्ने गरिएको कारण नै अहिले टिएमएसमा समस्या आएको हो कि होइन भन्ने अझै खुलेको छैन ।




