चुपचाप इजलासमा बसे न्यायाधीश फुयाल, के गर्दैछन् प्रधानन्यायाधीश शर्मा ?

 

काठमाडौँ । आज नयाँ पत्रिका दैनिक सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र अदालतका विचौलिया भनिएका एक व्यक्तिबीचको ह्वाट्सएप सम्बाद सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको सम्बादमा उनीहरुबीच सन्देहपूर्ण सम्बाद भएको देखिन्छ । सर्वाेच्च अदालतका एकजना विचौलिया भनिएका इनम सापकोटासँग न्यायाधीश फुयालले सर्वाेच्चको आदेश र त्यसपछि एक होटलमा भेटघाट गर्नेसम्मको कुरा गरेको नयाँ पत्रिकाले सार्वजनिक गरेको छ ।

यस्तै, सार्वजनिक भएको अर्काे एक कागजातमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको विषय पनि समावेश छ । सो कागजातमा प्रधानन्यायाधीश शर्माको लागि अमेरिकामा पैसा बुझाउनको लागि एक बैक खाता विवरण र नेपालमा पैसा बुझाउनको लागि अर्काे बैंक खाता विवरण दिइएको देखिन्छ ।

सार्वजनिक भएका यी तथ्यबारे सम्बन्धित न्यायाधीश मात्रै होइन, सर्वाेच्च अदालत पनि मौन छ । न्यायपालिकाको ‘वाचडगिङ’ गर्ने निकाय मानिएको नेपाल बार एसोसिएसन पनि यो समाचार तयार पार्दासम्म केही बोलेको छैन ।

सर्वाेच्च अदालतबाट न्याय सम्पादनमा रकमको चलखेल भएको संकास्पद कुराकानी सार्वजनिक भएपनि यस विषयमा सर्वाेच्च अदालत र सम्बन्धित न्यायाधीश मौन छन् । यति मात्रै होइन, शंकाको घेरामा रहेका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल न्याय सम्पादनको लागि बेन्चमा बसेका छन् ।

गम्भीर आरोप लागेका न्यायाधीशहरु कुनै प्रतिक्रिया नदिइ न्याय सम्पादनमा बस्नुलाई वरिष्ठ केही कानुन व्यवसायीहरुले अनौठो कार्यको रुपमा लिएका छन् । वडापालिकासँग कुराकानी गरेका केही वरिष्ठ कानुन व्यवसायीले आचरणसँग सम्बन्धित विषयमा गम्भीर प्रश्न उठ्दा न्यायाधीश मौन बस्ने र प्रधानन्यायाधीशले बेन्च तोक्ने कार्य आफैमा ‘डरलाग्दो’ विषय भएको बताएका छन् ।

‘यो विषयमा नाम जोडिएका श्रीमानहरु आज इजलासमा बस्छन् कि बस्दैनन् होला भनेर साथीभाइहरुबीच विहानै छलफल भएको थियो । यहाँ त म मात्रै हो र भनेर सबै न्यायाधीश चुपचाप बसे जस्तो पो देखियो । यो डरलाग्दो विषय हो,’ एक जना वरिष्ठ कानुन व्यवसायीले वडापालिकासँग भने ।

उनले गम्भीर आरोप लागेका न्यायाधीशलाई प्रधानन्यायाधीशले बेन्च तोक्न रोक्नुपर्ने बताए । यद्यपि, प्रधानन्यायाधीश शर्माको नाम पनि मुछिएका कागजात सार्वजनिक भएका छन् ।

सर्वाेच्च अदालतले सार्वजनिक गरेको आजको मुद्दाको पेशी विवरण अनुसार गम्भीर आरोप लागेका न्यायाधीश हरिप्रसाद फुयाल इजालस नं. २ मा अर्का न्यायाधीश बालकृष्ण ढकालसँगको संयुक्त इजलासमा छन् । प्रधानन्यायाधीश शर्मा  इजलास नं. १ मा न्यायाधीशहरु कुमार रेग्मी, सुनिलकुमार पोखरेल, मेघराज पोखरेल र शान्तिसिंह थापासँग पूर्ण इजलासमा छन् ।

सर्वाेच्च अदालतका न्यायाधीशको आचरणसँग सम्बन्धित कुनै विषय उठेमा उनीहरुलाई सोधपुछ गर्ने वा कारवाही गर्ने अधिकार संसदसँग मात्रै हुन्छ । न्यायपरिषदले सर्वाेच्च अदालतका प्रधानन्यायाधीशलाई कुनै प्रश्न सोध्न वा कारवाही गर्न पाउने अधिकार छैन । इजलास तोक्ने वा नतोक्ने भन्ने विषय भने प्रधानन्यायाधीशको अधिकार क्षेत्रमा पर्छ । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update