राजापुर नगरपालिकाले चामल, दाल, गहुँ र नुनको लिलामी गर्ने, कारण भोटेकोशी बाढी !

 

काठमाडौँ । बर्दियाको राजापुर नगरपालिकाले चामल, दाल, गहुँ र नुनको लिलाम बिक्री गर्ने भएको छ। 

नगरपालिकाले २४ हजार ४३२ केजी चामल, ३५२ केजी दाल, ९७१ केजी गहु र ८६३ केजी नुन लिलामी गर्न लागेको हो ।

नगरपालिकामा मौज्दात रहेको सो परिणमको खाद्यान्न लिलाम विक्री गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

नगरपालिकाले इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले सो सामान खरिदका लागि बोलपत्र पेश गर्न भनेको छ ।

यसको लागि नगर कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

नगरपालिकाका अनुसार जिन्सी शाखामा मौज्दात रहेका खाद्यान्न सामग्री लिलाम बिक्री गर्न लागिएको हो। लिलाम प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन कार्यालयले इच्छुक बोलपत्रदातालाई आवश्यक जानकारीसहित बोलपत्र पेस गर्न आग्रह गरेको छ।

सूचनाअनुसार इच्छुक बोलपत्रदाताले कार्यालयबाट आवश्यक जानकारी लिन सक्नेछन्। बोलपत्र फाराम खरिद गर्दा तोकिएको दस्तुर नगरपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गरी त्यसको प्रमाणसहित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

बोलपत्र फाराम खरिद तथा दर्ता, बोलपत्र खोल्ने समय र अन्य आवश्यक प्रक्रिया नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएबमोजिम हुनेछ। बोलपत्रदाताले आफूले कबोल गरेको रकमको १० प्रतिशत धरौटी रकम तोकिएको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था पनि सूचनामा उल्लेख छ।

नगरपालिकाले कात्तिक ९ गते सार्वजनिक सुचना प्रकाशन गरेको हो । सुचना प्रकाशित भएको १६औं दिनभित्रमा बोलपत्र पेश गरिसक्नु पर्ने नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले इच्छुक व्यक्ति तथा संस्थालाई निर्धारित समयभित्र आवश्यक कागजातसहित बोलपत्र पेस गर्न अनुरोध गरेको छ। साथै, बोलपत्रसम्बन्धी विस्तृत जानकारीका लागि राजापुर नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ।

कारण भोटेकोशी बाढी !

नगरपालिकामा यति ठूलो परिमाणमा खाद्यान्न कहाँबाट आयो भन्ने प्रश्न पनि उठेको छ । यो विषयमा वडापालिकाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीसँग सम्पर्क गरी कहाँबाट यति धेरै खाद्यान्न आयो भनेर प्रश्न गरेको छ ।

गिरीले असोज दोस्रो साता आएको रसुवाको भोटेकोशी बाढीका कारण खाद्यान्न जम्मा भएको जानकारी दिए ।

‘भोटेकोशी बाढी पिडितलाई राहत उपलब्ध गराउन यहाँका स्थानीयले खाद्यान्न सहयोग गरेका थिए । पछि सो स्थानमा खाद्यान्न आवश्यक नपर्ने भन्ने जानकारी आयो र नल्याउन पनि भनियो । यसो भएपछि सो खाद्यान्न नगरपालिकामा जम्मा गरिएको थियो,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने ।

उनले सो खाद्यान्न विक्रीबाट उठेको रकम भोटेकोशी बाढी पिडितको लागि उपलब्ध गराउने जानकारी दिए ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update