राजापुर नगरपालिकाले किसानलाई ४० प्रतिशत अनुदानमा च्याउको बीउ दिने

 

काठमाडौँ । बर्दिया जिल्लाको राजापुर नगरपालिकाले किसानलाई ४० प्रतिशत अनुदानमा कन्ये च्याउको बीउ वितरण गर्ने भएको छ। 

नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत च्याउ खेती प्रवर्द्धनका लागि बीउ वितरण गर्न लागेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले दिएको जानकारी अनुसार च्याउको बीउका लागि माग गरेका कृषकहरूलाई २०८३ असोज १३ गते बिहान १० बजेदेखि बीउ वितरण गरिनेछ। बीउ वितरण कार्यक्रम राजापुर नगरपालिका कृषि विकास शाखाको भवनमा सञ्चालन हुने जनाइएको छ।

नगरपालिकाले च्याउ खेतीमा संलग्न तथा इच्छुक कृषकलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित भई अनुदानको लाभ लिन आग्रह गरेको छ।

कृषि क्षेत्रको व्यावसायीकरण तथा कृषकको आयआर्जन बढाउने उद्देश्यले नगरपालिकाले विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्दै आएको छ। च्याउ खेतीका लागि अनुदानमा बीउ उपलब्ध गराउने कार्यक्रमले स्थानीय किसानलाई उत्पादनमा प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update