बढ्यो स्थानीय तह निर्वाचनको सरगर्मी, अन्तिम डेटलाइन चैत ५

काठमाडौँ । प्रमुख राजनीतिक दलहरु आसन्न स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । कानुन अनुसार आगामी चैत ५ गतेभित्र निर्वाचन गरिसक्नु पर्ने भएकोले निर्वाचनको मिति घोषणा नभएपनि निर्वाचनको राजनीतिक सरगर्मी बढेको हो ।

सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्यान्डिडेट क्लबमार्फत उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएको छ । अहिलेको स्थानीय सरकारमा रास्वपाको उपस्थिति छैन ।

संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि आन्तरिक तयारी तिब्र पारेको छ । पार्टी सभापति गगन थापा छठ लगत्तै राजनीतिक गतिविधिका लागि देशव्यापी कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।

संसदको तेस्रो ठूलो दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीका लागि नै राष्ट्रिय भेला आयोजना गरेको छ । 

एमालेले मंसिर २ गतेदेखि राष्ट्रिय भेला गर्न लागेको हो । भेलामा देशभरबाट करिब ३ हजार एमाले कार्यकर्ता सहभागी हुने बताइएको छ ।

यता सरकारले भने स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छैन । तर, यसअघि २०७९ साल जेठ ५ गते स्थानीय तह निर्वाचन भएर जनप्रतिनिधिले काम सुरु गरेका थिए । 

निर्वाचन कानुनका अनुसार निर्वाचन तयारीको लागि १२० दिन (४ महिना) को समय हुनुपर्छ भने जनप्रतिनिधिको कार्यकाल सकिनु २ महिनाअघि नै निर्वाचन भइसक्नु पर्छ । कानुनको यही प्रावधानका कारण ढिलोमा पनि चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नु पर्ने देखिएको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update