भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग के भने प्रधानमन्त्री शाहले ?

 

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उनले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताएका हुन् ।

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको आजको छलफल उनीहरुको मनोबल उच्च राख्न सहयोगी हुने प्रधानमन्त्रीको विश्वास छ ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए ।

‘यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौ, मिलेर काम गर्‍यौँ,’ प्रधानमन्त्री शाहले भने ।

प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गरे । सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरु पूर्ववत् अवस्थातर्फ स्वतःस्फूर्त फर्कन सहज हुने विश्वास उनको छ ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरुले सुरुआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरु जोखिममा रहेको विषय उठाउँदै स्मरण गरे । स्थानीय जनप्रतिनिधिहरुले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने उनको भनाइ छ । त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी सुरु गरेको जानकारी गराए ।

‘बस्ती बसाउँदा प्रभावित मानिसहरुको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै,  वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ,’ प्रधानमन्त्री शाहले भने ।

यसका लागि प्रधानमन्त्री शाहले आफै जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरे । आजको भेटमा प्रभावित क्षेत्रका जनप्रतिधिहरुसँगको छलफलले त्यहाँको वस्तुस्थिति बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहको भनाइ थियो 

 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update