प्रधानमन्त्रीले भेटे जेनजी सांसद, के–के भयो कुराकानी ?

 

काठमाडौँ । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रियाका क्रममा जनजीविकाका आधारभुत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन उनले आव्हान गरे ।

यसका लागि उनले स्थलगत अध्यय तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र   पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिए । साथै, राजनीतिलाई पेशा नबनाइ आम्दानीको छुट्टै व्यवसायीक आधार खडा गर्दै दीर्घकालिनरुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गरेका प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।

अन्तरक्रियामा सहभागी जेन्जी उमेरका सांसदहरुले प्रधानमन्त्रीको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रुपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update