किसानलाई भुम्लु गाउँपालिकाको सुचनाः गाईभैसी सुत्केरी भएका छन् भने भत्ता लिन आउनू

 

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले गाईभैसी सुत्केरी (ब्याए) भत्ता लिन आउन भनेको छ ।

गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरी किसानलाई गाईभैसी सुत्केरी भत्ता लिन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले जानकारी दिए ।

सामुदायिक तथा व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम संचालन गरिएको गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गाईभैँसी पालन गर्ने कृषक तथा पशुपालन फार्मलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको छ । 

गाईभैसी सुत्केरी भत्ता लिनको लागि ती गाई वा भैसीको बीमा गरिएको हुनैपर्छ । बीमा गरिएको गाई वा भैसी सुत्केरी भएमा किसानले प्रतिसुत्केरी १५ सय रुपैयाँको दरले भत्ता लिने गाउँपालिकाको भनाइ छ । फर्म नै दर्ता गरेर व्यवसायिक रुपमा गाई भैसी पालेका वा एउटा मात्रै गाई वा भैसी पालेका किसानले पनि यस्तो सुविधा पाउने व्यवस्था मिलाइएको छ । यतिवटाको लागि मात्रै भत्ता दिने भनेर सीमा तोकिएको छैन ।

गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै कार्यक्रमबाट लाभ लिन इच्छुक कृषक तथा व्यावसायिक पशुपालन फार्महरूलाई आवश्यक कागजातसहित निवेदन पेस गर्न आह्वान गरेको छ।

गाउँपालिकाका अनुसार सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र पशु सेवा शाखामा आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ। गाउँपालिकाले असोज २७ गते सार्वजनिक सुचना प्रकाशन गरेको छ ।

कार्यक्रममा सहभागी हुन कृषकको निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, फर्म दर्ता तथा नवीकरणसम्बन्धी प्रमाणपत्र, पशु बीमा गरिएको भए बीमा पोलिसीको प्रतिलिपि र सम्बन्धित वडास्तरीय समितिको निर्णय आवश्यक पर्ने सूचनामा उल्लेख छ।

त्यसैगरी, अनिवार्य भाडा वा छाडा चौपायासम्बन्धी व्यवस्थासँग सम्बन्धित कृषक भए त्यसको प्रमाणका रूपमा फोटोसमेत पेस गर्नुपर्ने सूचनामा जनाइएको छ।

गाउँपालिकाले पशु बीमा नगरेको अवस्थामा निवेदन पेस गरेमा त्यस्तो निवेदनमाथि कारबाही नहुनेसमेत स्पष्ट पारेको छ।

पशुपालन व्यवसायलाई व्यवस्थित, सुरक्षित र व्यावसायिक बनाउँदै कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको यस कार्यक्रमबाट स्थानीय कृषक लाभान्वित हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update