भुम्लु गाउँपालिकाकाे विज्ञापन कर संकलनका लागि बोलपत्र आह्वान, न्यूनतम रकम १ लाख २० हजार

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र विज्ञापन कर संकलन गर्ने कार्यका लागि बोलपत्र आह्वान गरेको छ।

गाउँपालिकाले आर्थिक ऐन, २०८३ को दफा ७ तथा सम्बन्धित अनुसूचीअनुसार स्वीकृत दररेटको अधीनमा रही विज्ञापन कर संकलनको ठेक्का बन्दोबस्त गर्न लागेको हो। गाउँपालिकाले इच्छुक नेपाली नागरिक, दर्तावाला फर्म तथा संस्थालाई बोलपत्रमार्फत प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

सूचनाअनुसार बोलपत्र फारामका लागि १ हजार रुपैयाँ दस्तुर तोकिएको छ। इच्छुकले गाउँपालिकाको राजस्व शाखाबाट बोलपत्र फाराम खरिद गरी तोकिएको समयभित्र बोलपत्र दर्ता गर्नुपर्नेछ।

ठेक्काको न्यूनतम वार्षिक कबोल रकम मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ लाख २० हजार रुपैयाँ तोकिएको छ। बोलपत्रदाताले आफूले कबोल गरेको कुल रकमको १० प्रतिशतले हुने रकम बराबरको बैंक जमानतसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

बोलपत्रदाताले कबोल रकम अंक र अक्षर दुवैमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने गाउँपालिकाले जनाएको छ।

ठेक्का सम्झौता भएपछि कबोल रकम बढीमा दुई किस्तामा बुझाउन सकिने व्यवस्था गरिएको छ। पहिलो किस्ताबापत सम्झौता भएको रकमको ३५ प्रतिशत सम्झोता भएको दिन र बाँकी ६५ प्रतिशत रकम तोकिएको समयभित्र बुझाउनुपर्नेछ। साथै, सम्झौता रकम अग्रिम भुक्तानी गरेमा कबोल अंकको ५ प्रतिशतभन्दा बढी हुन आउने रकम छुट हुने व्यवस्था सूचनामा उल्लेख छ।

गाउँपालिकाका अनुसार बोलपत्रदाताले फर्म तथा संस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्रलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ। 

गाउँपालिकाले असोज ७ गते बोलपत्र सार्वजनिकको लागि सुचना प्रकाशन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालसिंह विकले जानकारी दिए । सो सुचनामा सुचना प्रकाशन भएको २१ दिनभित्र आवेदन दिइसक्न भनिएको छ । यो भनेको असोज २७ गतेसम्म हो ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  ११:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update