काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर १ रुपैयाँका दरले अनुदान वितरण गर्ने भएको छ।
गाउँपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार दूधमा अनुदान वितरण कार्यक्रम सञ्चालन गर्न लागेको हो।
गाउँपालिकाले सूचना प्रकाशित गर्दै इच्छुक कृषक, दुग्ध उत्पादक सहकारी संस्था तथा दूध सङ्कलन केन्द्रलाई आवश्यक कागजातसहित आवेदन पेस गर्न आह्वान गरेको छ। सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र पशु सेवा शाखामा निवेदन दिनुपर्ने गाउँपालिकाले जनाएको छ।
कार्यक्रमअन्तर्गत दूध उत्पादन तथा बिक्री गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइनेछ। गाउँपालिकाले यस कार्यक्रममार्फत दुग्ध उत्पादनमा वृद्धि, किसानको आम्दानीमा सुधार तथा स्थानीय दुग्ध व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
अनुदान प्राप्त गर्न इच्छुक आवेदकले अनुसूची–३ बमोजिमको आवेदन पेस गर्नुपर्नेछ। त्यसैगरी, दुग्ध उत्पादक सहकारी संस्था वा दूध सङ्कलन केन्द्रले आवेदन दिन सक्ने भए पनि अनुदान कार्यक्रमको हकमा दूध उत्पादक सहकारी संस्था वा दूध सङ्कलन केन्द्रले मात्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
आवेदनसँगै आर्थिक वर्ष २०८२/८३ को साधारणसभा सम्पन्न भएको प्रमाण, संस्थाको लेखापरीक्षण प्रमाणपत्र, दूध खरिद–बिक्रीको प्रमाण, किसानलाई दूधको भुक्तानी गरेको भरपाई, कुनै कारबाहीमा नपरेको स्वघोषणापत्र, किसानको बैंक खातामार्फत प्रोत्साहन रकम भुक्तानी गर्ने स्वघोषणापत्र, संस्थाको बैठक निर्णयको प्रतिलिपि तथा सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ।
गाउँपालिकाका अनुसार किसानलाई प्रोत्साहन रकम बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था गरिनेछ। यसका लागि आवेदन दिने संस्था वा सहकारीले आवश्यक विवरण तथा प्रमाण कागजात अनिवार्य रूपमा बुझाउनुपर्नेछ। गाउँपालिकाले माग गरेको कागजातको संख्या १० वटा रहेका छन् । यी कागजात बुझाएपछि मात्रै दुधमा अनुदान प्राप्त गर्न सकिनेछ ।
भुम्लु गाउँपालिकाले इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा दूध सङ्कलन केन्द्रलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ। कार्यक्रमसम्बन्धी थप जानकारी गाउँपालिकाको पशु सेवा शाखाबाट प्राप्त गर्न सकिनेछ।


