प्रेमबहादुरले सान्नी गाउँपालिका नछोडेपछि सामान्यले रोकिदियो बैंक खाता, अब के गर्छन् उदयराज ?

 

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। 

मन्त्रालयले सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवाल सोही गाउँपालिकामै बसेपछि खाता रोक्का गरेको हो।

मन्त्रालयका अनुसार सान्नी त्रिवेणी गाँउपालिकामा कार्यरत बडुवाललाई जाजरकोटको कुशे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सरुवा गरिएको छ । तर, उनी सरुवा भएको निकायमा हाजिर नगरी सोहि गाउँपालिकामा कार्यरत रहँदै आएका थिए। 

मन्त्रालयले सान्नी त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर उदयराज उपाध्यायलाई पठाएको छ । गाउँपालिकाले उपाध्यायलाई हाजिर गराएको छैन ।

सरुवा भएर पनि साविककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरेको हो।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ।

मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सान्नी त्रिवेणी गाउँपालिकाको बैंक खातामा उपाध्यायको नामबाट चल्ने जानकारी गराएको छ । तर, उपाध्याय सो गाउँपालिकामा हाजिर नै भएका छैनन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update