काठमाडौँ । देशभरका स्थानीय सरकारहरुका वेबसाइट बन्द भएका छन् । विश्वव्यापी रुपमा पिएचपी प्रणालीमा समस्या आएका कारण वेबसाइटहरु बन्द भएका हुन् ।
प्राविधिक समस्याका कारण बन्द भएका वेबसाइटहरु पुनः संचालनको गृहकार्य भइरहेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सुचना अधिकारी कृष्ण गिरीले जानकारी दिए । मन्त्रालयको वेबसाइट बन्द नभएको र केही स्थानीय सरकारहरुको वेबसाइटमा समस्या देखिएकोले पिएचपी अपडेट गरेर खुलाउने पहल भइरहेको उनको भनाइ छ ।
‘केही स्थानीय तहहरुको वेबसाइटमा अझै समस्या देखिएको छ । समस्या समाधानको लागि पहल भइरहेको छ । पिएचपी प्रणालीमा समस्या आएकोले सो सम्बन्धी अपडेट गर्ने कार्य भइरहेको छ,’ उनले भने ।
सरकारले हालै गठन गरेको सफ्टवयर संचालन तथा विकास केन्द्रले पिएचपी प्रणालीको सुरक्षा सम्बन्धी जोखिम कम भएका १ हजारभन्दा बढी सरकारी वेबसाइटहरु पुनः संचालनमा आएको दाबी गरेको छ । सुरक्षा सम्बन्धी सुरक्षा प्याचिङ, परीक्षण र प्रमाणीकरण सम्पन्न भएपछि ती वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सामान्य रूपमा सञ्चालनमा आएका केन्द्रको भनाइ छ । केन्द्रले बाँकी रहेका सेवाहरू पनि छिट्टै सञ्चालनमा ल्याउन निरन्तर काम भइरहेको जनाएको छ ।
मन्त्रालयका सुचना अधिकारी गिरी पनि स्थानीय तहहरुका वेबसाइटहरु अब छिट्टै नै संचालनमा आउने बताउँछन् । तर, कहिलेदेखि संचालनमा आउँछन् भनेर यकिन रुपमा भन्न सक्ने अवस्थामा सरकारी अधिकारीहरु छैनन् ।
स्थानीय सरकारका वेबसाइटहरु एकैपटक बन्द हुँदा नागरिकले सुचनाको हकबाट बन्चित हुनु परेको छ । यस्तै, सार्वजनिक खरिदको सुचना पनि स्थानीय सरकारहरुले आफ्नो वेबसाइट मार्फत गराउने गरेकोमा अहिले सो कार्य पनि प्रभावित भएको छ ।
वेबसाइट नचलेपनि आफूहरुले प्रवाह गर्नुपर्ने सुचना सामाजिक संजाल फेसबुकको भर परिएको स्थानीय सरकारका अधिकारीहरुले बताएका छन् । सम्बन्धित स्थानीय सरकारको आधिकारिक फेसबुक पेज तथा पदाधिकारी र कर्मचारीहरुको सामाजिक संजाल मार्फत सुचना तथा जानकारी प्रवाह गरिएको उनीहरुको भनाइ छ ।



