अस्थायी शिविरमा बसेका बाढीपीडितलाई स्थायी घर फर्काउन स्थानीय तहलाई निर्देशन

 

काठमाडौं । सरकारले बाढी तथा विपद्का कारण विभिन्न जिल्लाका अस्थायी आश्रयस्थलमा बस्दै आएका स्थानीय बासिन्दालाई पहिचान गरी उनीहरूलाई स्थायी बसोबासस्थलसम्म पुर्‍याउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाले सबै स्थानीय तहलाई पत्राचार गर्दै यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो।

गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित भई उद्धार गरिएका नागरिकहरू रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा सञ्चालित विभिन्न अस्थायी आश्रयस्थलमा बसिरहेका छन्। ती आश्रयस्थलमा रहेका स्थानीय तहका स्थायी बासिन्दालाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पहिचान गर्न र उनीहरूलाई आफ्नै स्थायी बसोबासस्थलसम्म पुर्‍याउने व्यवस्था गर्न भनिएको छ।

मन्त्रालयले आश्रयस्थलमा रहेका आफ्ना क्षेत्रका बासिन्दा तथा स्थानीय तहअन्तर्गतका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीको समेत आवश्यक पहिचान गरी सुरक्षित रूपमा स्थायी बसोबासस्थलसम्म पुर्‍याउन आग्रह गरेको छ।

यो व्यवस्था मनसुन प्रतिकार्य कमाण्ड पोस्टको निर्णयअनुसार गर्न सबै स्थानीय तहलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update