काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषि विकाससम्बन्धी कार्यक्रम, अनुदान तथा सेवा–सुविधा प्राप्त गर्न किसान सूचीकरण प्रणालीमा दर्ता अनिवार्य गरेको छ।
चालु आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने कृषि विकासका कार्यक्रम तथा सेवा–सुविधा प्राप्त गर्न किसान सूचीकरण दर्ता नम्बर अनिवार्य गरिएको गाउँपालिकाको कृषि विकास अधिकृत श्यामशरन कुर्मीले जानकारी दिए ।
कृषि, वन तथा वातावरण मन्त्रालयले स्थानीय तहबाट संचालन हुने सशर्त कृषि कार्यक्रम कार्यान्वयन गर्नको लागि किसान सूचीकरण अनिवार्य गरेको छ । सोही व्यवस्था कार्यान्वयन गर्न गाउँपालिकाले किसानलाई सूचीकरण हुन भनेको हो ।
गाउँपालिकाले किसान सूचीकरण प्रणालीमा हालसम्म दर्ता नभएका कृषकलाई यथाशीघ्र दर्ता गर्न आग्रह गरेको छ। दर्ता गर्न बाँकी रहेका कृषकले गाउँपालिकाको कृषि विकास शाखा वा आफ्नो वडा कार्यालयमा सम्पर्क गरी सूचीकरण दर्ता नम्बर प्राप्त गर्न सक्नेछन्।
गाउँपालिकाका अनुसार किसान सूचीकरण नम्बर नभएका कृषकलाई कृषि विकाससम्बन्धी कार्यक्रममा समावेश गर्न नसकिने भएकाले समयमै दर्ता प्रक्रिया पूरा गर्न आवश्यक छ।
कृषि कार्यक्रमलाई व्यवस्थित, पारदर्शी तथा लक्षित कृषकसम्म पुर्याउने उद्देश्यले सूचीकरणलाई अनिवार्य बनाइएको गाउँपालिकाको भनाइ छ ।


