खेलप्रेमीले सहयोग जुटाएरै बनाए रघुगंगा गाउँपालिकाको मङ्गलेखानीमा खेलमैदान

 

म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । 

मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाख रुपैयाँभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो । 

उपभोक्ता समितिका अध्यक्ष फमान छन्त्यालका अनुसार ४४ लाख ३० हजार रुपैयाँको लागतमा निर्माण भएको खेलमैदान बनाउन दाताहरुले २६ लाख ९० हजार, रघुगङ्गा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवद्र्धक तुँदी पावरले ५ लाख र ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक संयुक्त ऊर्जा कम्पनीले २ लाख ५० हजार रुपैयाँ प्रदान गरेका हुन् । 

स्व डेनिस भलन्जा छन्त्यालको स्मृतिमा उनका परिवारले २ लाख रुपैयाँ सहयोग गरेका छन् । अन्य सहयोग प्रवास र पूर्वखेलाडी तथा स्थानीयवासीबाट जुटाएको अध्यक्ष छन्त्यालले जानकारी दिए ।

सोह्र मिटर चौडा र ३० मिटर लामो खेलमैदानमा प्यारापिटलगायत दर्शकका निम्ति आवश्यक संरचना पनि निर्माण भएका छन् । रासस

 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update