काठमाडौं । घर निर्माणका क्रममा डिजाइनमा परिवर्तन, प्राविधिक त्रुटि, लागत वृद्धि र ढिलाइ हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यले शिलाक्ष्य गृह निर्माण प्रालि र फोरफ्रन्ट इन्जिनियरिङ प्रालिबीच सहकार्य भएको छ।
शिलाक्ष्य गृह निर्माणका आशित अधिकारी र सायन प्याकुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका महेश कार्की र सुधीर थापाले एक कार्यक्रमका बीच समझदारी पत्र साटासाट गरे ।
दुई कम्पनीबीच भएको समझदारीअनुसार भवन सूचना मोडलिङ (बीआईएम), भर्चुअल रियालिटी (भीआर), डिजिटल ट्विन र लिडार स्क्यानिङ जस्ता प्रविधिलाई निर्माण परियोजनामा प्रयोग गरिनेछ। यसबाट ग्राहकले निर्माण सुरु हुनुअघि नै आफ्नो घरको डिजिटल स्वरूप हेर्न, डिजाइनमा आवश्यक सुधार गर्न र सम्भावित प्राविधिक समस्या पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ।
बीआईएममार्फत भवनको डिजाइन, संरचना, विद्युतीय प्रणाली र प्लम्बिङबीचको समन्वय जाँच गर्न सकिन्छ। यसले निर्माणकै क्रममा समस्या देखिएपछि पुनः काम गर्नुपर्ने अवस्था, सामग्रीको अनावश्यक खपत र अतिरिक्त खर्चको जोखिम घटाउन सहयोग पुर्याउन सक्छ। भर्चुअल रियालिटीले ग्राहकलाई घरको बनावट बुझ्न सहज बनाउँछ भने लिडार स्क्यानिङले निर्माणस्थलको वास्तविक अवस्था डिजिटल रूपमा अभिलेख गर्न मद्दत गर्छ।
फोरफ्रन्ट इन्जिनियरिङका प्रबन्ध निर्देशक महेश कार्कीले नेपालमा अझै पनि अधिकांश निर्माण परियोजना परम्परागत दुई आयामका नक्सामा आधारित रहेको उल्लेख गर्दै डिजिटल प्रविधि अपनाउनुपर्ने आवश्यकता औँल्याए।
‘यदि नेपालले वास्तवमै डिजिटल निर्माणको युगमा प्रवेश गर्ने हो भने अब डिजिटल पूर्वाधार संरचना तथा सूचना प्रणाली (बिआइएम) अपनाउन ढिला गर्नु हुँदैन। परियोजनाको योजना र डिजाइनदेखि निर्माण तथा सञ्चालनसम्म डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै निर्माण क्षेत्रलाई अझ व्यवस्थित, प्रभावकारी, पारदर्शी र दिगो बनाउने समय आइसकेको छ,’ उनले भने।
शिलाक्ष्य गृह निर्माणका सह–संस्थापक आशित अधिकारीले फोरफ्रन्टसँगको सहकार्यले आधुनिक निर्माण प्रविधिलाई वास्तविक परियोजनामा प्रयोग गर्न सहयोग पुग्ने बताए। उनले निर्माण क्षेत्रलाई परम्परागत शैलीबाट आधुनिक र प्रविधिमैत्री दिशातर्फ लैजानुपर्नेमा जोड दिए।
‘हामी सधैँ गुणस्तर, पारदर्शिता र उच्च कार्यक्षमतालाई प्राथमिकता दिँदै आएका छौँ। यो सहकार्यले बिआइएम, भर्चुअल रियालिटी र लिडार स्क्यानिङजस्ता अत्याधुनिक प्रविधिलाई हाम्रा वास्तविक निर्माण परियोजनाहरूमा जोड्न ठूलो सहयोग पुर्याउनेछ,’ उनले भने।
यस पहलले भवन निर्माणमा मात्र सीमित नभई नेपालको निर्माण क्षेत्रलाई थप व्यवस्थित, दिगो र प्रविधिमा आधारित बनाउन सहयोग गर्ने विश्वास अधिकारीले व्यक्त गरे।
शिलाक्ष्य गृह निर्माण निर्माणसम्बन्धी समाधान तथा भौतिक संरचना विकासमा केन्द्रित कम्पनी हो भने फोरफ्रन्ट इन्जिनियरिङले बीआईएम, डिजिटल इन्जिनियरिङ र प्रविधिमा आधारित निर्माण समाधानमा काम गर्दै आएको छ।
शिलाक्ष्यको निर्माणसम्बन्धी अनुभव र फोरफ्रन्टको डिजिटल इन्जिनियरिङ विशेषज्ञतालाई एकीकृत गरी निर्माणको गुणस्तर, कार्यदक्षता र स्रोतको प्रभावकारी उपयोग बढाउने लक्ष्य राखिएको छ। सहकार्यबाट ग्राहकले पाउने वास्तविक लाभ भने यी प्रविधिको प्रयोग र कार्यान्वयनको प्रभावकारितामा निर्भर हुनेछ।


