काठमाडौँ । दाङको राप्ती गाउँपालिकाले धानलगायत अन्नबाली काटेपछि खेतमा बाँकी रहने पराल तथा भुसा नजलाउन किसानलाई आग्रह गरेको छ।
गाउँपालिकाले पराल र भुसा जलाउँदा वातावरण प्रदूषण बढ्नुका साथै मानव स्वास्थ्य, माटोको उर्वराशक्ति र पशुपालनमा समेत नकारात्मक असर पर्ने भन्दै यस्तो कार्य नगर्न अनुरोध गरेको हो।
खेतमा बाँकी रहेको पराल तथा भुसा जलाउने कार्यले श्वासप्रश्वाससम्बन्धी रोगलगायत स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकोले पराल तथा भुसा नजलाउन अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले जानकारी दिए ।
पराल तथा भुसा जलाउँदा माटोको उर्वराशक्ति घट्ने र पशु आहाराको आपूर्तिमा समेत असर पर्ने गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाले किसानलाई खेतमा रहेको पराल नजलाउन र त्यसलाई उपयोगी प्रयोजनमा लगाउन आग्रह गरेको छ। आफ्नो खेतमा रहेको पराल गाउँपालिका क्षेत्रभित्र वा अन्य क्षेत्रका गाईभैँसी पालक किसानलाई उपलब्ध गराउन चाहने किसानलाई समेत सहयोग गर्न अनुरोध गरिएको छ।
सूचनाअनुसार पराल उपलब्ध गराउन इच्छुक किसानले पराल तयार भएपछि कम्तीमा एक दिनअघि गाउँपालिकाको कृषि तथा पशुसेवा शाखामा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि शाखामार्फत आवश्यक समन्वय गरी परालको उपयोग, वातावरण संरक्षण र पशु आहाराको व्यवस्थापनमा सहयोग पुर्याउन सकिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले पराल र भुसा जलाउनुको सट्टा पशु आहाराका रूपमा प्रयोग गर्ने तथा अन्य उपयोगी विकल्प अपनाउन किसानलाई आग्रह गरेको छ। सूचनामार्फत गाउँपालिकाले वातावरण स्वच्छ राख्न र कृषि तथा पशुपालन क्षेत्रलाई सहयोग पुग्ने गरी पराल व्यवस्थापन गर्न सबै किसानसँग अनुरोध गरेको छ।


