छिन्नमस्ता गाउँपालिकालाई चल्यो ‘झोक’, दशैंकको मुखमा घर टहरा खाली गर्न १५ घण्टे निर्देशन

काठमाडौँ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाले राजविराज–छिन्नमस्ता सडकखण्डमा सडक र पेटी अतिक्रमण गरी बनाइएका संरचना तथा राखिएका सामग्री हटाउन निर्देशन दिएको छ।

गाउँपालिकाले आज (असोज २६ गते) सार्वजनिक सुचना प्रकाशन गरी भोलि (असोज २७ गते) विहान ८ बजेसम्म सडक पेटीका अस्थायी संरचना हटाइसक्न भनेको हो ।

गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आज अपरान्ह ५ बजे सो सम्बन्धी सुचना आफ्नो सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् ।

सुचना अनुसार गाउँपालिकाले वडा नम्बर ६ को जनता माध्यमिक विद्यालय, इटहरीदेखि दक्षिणतर्फ वडा नम्बर ३ को न्योर बोडरसम्म सडक र पेटीमा गरिएको अतिक्रमण हटाउन भनिएको छ ।

गाउँपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार सडक तथा पेटीमा घरटहरा, गुम्ती, पसल, गोबर, गुँडठा लगायतका सामग्री राखेर सडक अवरुद्ध गरिएको भन्दै त्यस्ता सामग्री हटाउन निर्देशन दिइएको छ।

chhinnamasta-notice-1791806048.jpg
निर्धारित समयभित्र अतिक्रमण नहटाए सडक अतिक्रमण गर्ने व्यक्ति तथा संस्थामाथि नियमानुसार कारबाही गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले दशैंकै लागि सडक खाली गर्न लागिएको बताए । छिन्नमस्ता मन्दिरमा ठूलो संख्यामा दर्शनार्थी आउने भएकोले सडक खुल्ला राख्न यस्तो पहल गरिएको उनको भनाइ छ ।

‘दशैंकको बेलामा छिन्नमस्ता देवीको मन्दिरमा ठूलो संख्यामा दर्शनार्थी आउँछन् । सडकमा घर, टहरा, घुम्ती पसल, गोबर, गुइठा लगायतका सामान राखी अवरोध सिर्जना गरिएको छ । त्यसैले दशैंको बेलामा सडक खुल्ला राख्नको लागि यस्तो सुचना प्रकाशन गरी सडक खाली गर्न लागिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत झाले वडापालिकासँग भने ।

गाउँपालिकाले सडकपेटी खाली गर्ने सम्बन्धी सुचनाको जानकारी जिल्ला प्रशासन कार्यालय सप्तरी र सडक डिभिजन कार्यालय लहान, सिरहालाई पनि गराएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update