Odapalika - The Fourth Estate - चौथो अंग
सिक्कामा छिन्नमस्ता देवीको प्रतिमा राख्न अध्यक्ष चौधरीको पहल, के भन्छ राष्ट्र बैंक ?

काठमाडौँ । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले छिन्नमस्ता देवीको प्रतिमा नेपाली सिक्का तथा नोटमा समावेश गर्न पहल थालेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता देवी नेपालको एक प्रमुख शक्तिपिठ हो ।

अध्यक्ष चौधरीले केही समयअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई भेटेर नेपाली सिक्का तथा नोटमा छिन्नमस्ता देवीको प्रतिमा समावेश गर्न अनुरोध गरेका थिए । 

छिन्नमस्ता देवीको प्रतिमा नेपाली सिक्कामा समावेश हुँदा नेपालको धार्मिक, सास्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने क्षण बन्न सक्ने अध्यक्ष चौधरीले बताए ।

‘छिन्नमस्ता जस्तो शक्तिपीठ नेपाली सिक्कामा अङ्कित हुनु सम्पूर्ण छिन्नमस्ताबासीका लागि गर्वको कुरा मात्र होइन, हाम्रो धार्मिक, सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्ने ऐतिहासिक क्षण पनि बन्न सक्छ,’ उनले भने ।

गाउँपालिकाको तर्फबाट गरिएको प्रस्ताव कार्यान्वयनमा आए नेपाल तथा भारतका धार्मिक पर्यटकलाई आकर्षित गर्न सहज हुने उनले बताए ।

‘यो प्रस्ताव कार्यान्वयनमा आयो भने यसले छिन्नमस्ता क्षेत्रमा धार्मिक पर्यटनलाई थप गति दिनेछ, भारत नेपाल दुवै पक्षका भक्तजनलाई आकर्षित गर्नेछ, र स्थानीय आर्थिक क्रियाकलापमा प्रत्यक्ष योगदान पुर्याउनेछ,’ उनले भने ।

 

अध्यक्ष चौधरीले छिन्नमस्ता देवीको प्रतिमा नेपाली सिक्का तथा नोटमा समावेश गर्न आग्रह गरेको विषयमा वडापालिकाले नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई सम्पर्क गरी यो कार्य कति सम्भव छ भनेर सोधेका छौं । प्रवक्ता पौडेलले राष्ट्रिय सम्पदाहरुलाई सिक्कामा समावेश गर्ने गरिएको बताए ।

‘नेपाल राष्ट्र बैंकमा सिक्का डिजाइन भन्ने समिति हुन्छ । त्यो समितिबाट पारित भएर मात्रै हुँदैन, नेपाल सरकारले पनि निर्णय गरेमा राष्ट्रिय सम्पदाहरुलाई सिक्कामा समावेश गर्न सकिन्छ, गर्ने गरिएको पनि छ,’ प्रवक्ता पौडेलले भने ।

नेपाल राष्ट्र बैंकले यसअघि प्रकाशन गरेका सिक्कामा विभिन्न मठमन्दिर तथा अन्य सम्पदाहरुको प्रतिमा समावेश गर्ने गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update