सिक्काबाट चुच्चेनक्सा हटाउने निर्णय सरकारको हो ? यसरी राखिन्छ नोट र सिक्कामा नक्सा वा फोटो

काठमाडौँ । नेपाल सरकारले एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चेनक्सा हटाउने निर्णय गर्यो भनेर केही दिनयता धेरै चर्चा परिचर्चा भइरहेको छ ।

र, नेपालले सिक्कामा चुच्चेनक्सा हटाएर भारतसँग झुकेको भन्ने अर्थमा भारतीय मिडियाहरुले समाचार सामग्री पनि प्रकाशन गरिरहेका छन् । 

यही सन्दर्भमा वडापालिकाले नेपाल राष्ट्र बैंकका बहालवाला र पूर्वअधिकारीहरुसँग सम्पर्क गरी नोट वा सिक्कामा कुनै नक्सा, चित्र वा स्केज कसरी राखिन्छ, त्यसमा मन्त्रिपरिषद (नेपाल सरकार) को भूमिका हुन्छ कि हुँदैन भनेर सोधखोज गरी यो सामग्री तयार पारेका छौं । 

राष्ट्र बैंकका बहालवाला र पूर्वअधिकारीहरुले दिएको जानकारी अनुसार नोट वा सिक्कामा राखिने नक्सा वा फोटो समेतको विवरणलाई डिजाइन भनिन्छ । नेपाल राष्ट्र बैंकबाट सुरु हुने नोट वा सिक्का डिजाइनको प्रक्रिया मन्त्रिपरिषदमा पुगेर टुंगिने उनीहरुले बताएका छन् । अहिले सिक्काबाट चुच्चेनक्सा हटाइएको सन्दर्भ आएकोले सिक्काको डिजाइन फाइनल कसरी हुन्छ भन्ने बारेमा चर्चा गरौं ।

नेपाल राष्ट्र बैंकमा मुद्रा व्यवस्थापन विभाग छ । यो विभाग अन्तरगत टक्सार विभाग रहेको छ । टक्सार विभागले आफूसँग भएका सिक्कको स्टक तथा मागका आधारमा थप सिक्का टकमारी गर्नको लागि मुद्रा व्यवस्थापन समितिका कार्यकारी निर्देशक संयोजक रहेको कार्यव्यवस्था समितिमा पठाउँछ । सो समितिमा राष्ट्र बैंकका अन्य विभिन्न विभागका कार्यकारी निर्देशकरु पनि हुन्छन् ।

कार्य व्यवस्था समितिले नयाँ सिक्का टकमारी गर्नुपर्ने अवस्था देखेमा सो सम्बन्धी प्रस्ताव मुद्रा व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नरकोमा पठाउँछ । कार्य व्यवस्था समितिबाट आएको प्रस्ताव आवश्यक अध्ययन गरेर डेपुटी गभर्नरले गभर्नरको पठाउँछ । 

यो प्रस्ताव गभर्नरकोमा पुगेपछि डिजाइन परिवर्तन हो भने नोट तथा सिक्का डिजाइन समितिमा जान्छ । डिजाइन परिवर्तन होइन भने सोझै राष्ट्र बैंक संचालक समितिमा जान्छ ।

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाएर गुम्बा राख्ने निर्णय भएकोले सिक्कको डिजाइन परिवर्तन हो । त्यसैले सो प्रस्ताव गभर्नरले नोट तथा सिक्का डिजाइन समितिमा पठाउनु पर्छ । यो समितिको अध्यक्ष गभर्नर हुन्छ भने समितिमा डेपुटी गभर्नरहरु, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, वन विभागका महानिर्देशक, पुरातत्व विभागका महानिर्देशक र प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि सो समितिमा हुन्छन् । 

नोट तथा सिक्का डिजाइन समितिले जनावरको फोटो राख्ने हो भने सो जनावर नेपालकै हो कि होइन, आधिकारिक फोटो खिचेर ल्याउने तथा मठ मन्दिर, गुम्बा वा यस्तै कुनै सम्पदाको फोटो राख्ने हो भने सो सम्पदा पूरातात्विक र ऐतिहासिक महत्वको हो कि होइन, नोट र सिक्कामा राख्ने भाषा सही छ कि छैन भन्ने जस्ता प्राविधिक विषय फाइनल गर्छ । त्यसपछि सो प्रस्ताव राष्ट्र बैंक संचालक समितिमा पुग्छ । 

संचालक समितिले सो प्रस्ताव पारित गरेपछि स्वीकृतिको लागि अर्थ  मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाइन्छ । यस्तो किन गरिन्छ भने नोट वा सिक्कामा राखिएका विषयमा कुनै विवाद उत्पन्न भएमा त्यसको जवाफ सरकारले दिनुपर्ने भएकोले मन्त्रिपरिषदबाट स्वीकृत गराउने गरिएको हो ।

केही विषयमा विवाद पनि हुन्छ । जस्तो कि एक रुपैयाँको सिक्कामा पृथ्वीनारायण शाहको तस्वीर राख्ने भन्ने विषय यसअघि पनि आएको थियो । तर, उनका विषयमा पनि नेपाल एकीकरणको समयमा हामीमाथि अन्याय भएको थियो भन्ने समुहले विवाद सिर्जना गर्ने अवस्था सिर्जना भएपछि उनको तस्वीर राखिएन ।

यस्तै,  नोटमा गौतम बुद्धको तस्वीर राख्ने विषय पनि छलफलमा आएको थियो । तर, गौतम बुद्धको तस्वीर अंकित नोट दिएर यौन व्यवसायको भुक्तानी वा, बली दिएको मन्दिरमा त्यस्तो नोट चढाउने वा मासु व्यापारमा पनि बुद्धको फोटो अंकित नोट चल्ने भन्दै बुद्धका अनुयायीले अस्वीकार गरेका थिए ।

किन हटाउन खोजियो चुच्चे नक्सा ?

नयाँ डिजाइनमा चुच्चे नक्सा हटाउने प्रस्ताव राष्ट्र बैंकले मन्त्रिपरिषद पठाएको हो । अहिलेको साइज र धातु प्रयोग गरेर एक रुपैयाँको सिक्का टकमारी गर्दा त्यसको खर्च नै २ रुपैयाँभन्दा बढी पर्ने भएपछि धातु पनि परिवर्तन गर्ने र साइज पनि सानो बनाउने निर्णय राष्ट्र बैंकले गरेको हो । यो निर्णय खर्च कम गर्नको लागि मात्रै हो । र, सानो साइजको सिक्कामा चुच्चे नक्सा नहट्ने तर्क राष्ट्र बैंकको छ ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update