लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्तामा अनियमितता, वडाध्यक्षले लगाए ३६० पटक देब्रेहातको ल्याप्चे

 

काठमाडौँ । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २ सय रुपैयाँ हिनामिना गरेको आरोपमा  तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा अनियमितता भएको निष्कर्षसहित बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आरोपपत्रअनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक र वडा नम्बर ९ का तत्कालीन अध्यक्ष शुक्रवीर तामाङविरुद्ध मुद्दा दायर गरिएको छ।

आयोगको अनुसन्धानमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा दोहोरो नाम राखेर रकम भुक्तानी गरिएको, मृत्यु भइसकेका लाभग्राहीको लगत कट्टा नगरी भत्ता वितरण गरिएको तथा बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीको विवरणसमेत अद्यावधिक नगरी रकम वितरण गरिएको पाइएको छ।

त्यसैगरी, वडा अध्यक्ष शुक्रवीर तामाङले आफ्नो दायाँ हातको बुढीऔँलाको छाप प्रयोग गरी आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ का तीन–तीन चौमासिकको गरी ३६० वटा औँठाछाप लगाएर कुल २९ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी लिएको आयोगको दाबी छ।

लाभग्राहीको भर्पाईमा रहेका औँठाछापसँग मेल खानेबाहेकका विवरणमा समेत दोहोरो नाम राखेर भत्ता वितरण गरिएको तथा मृत्यु र बसाइँसराइ भएका व्यक्तिको नाममा भुक्तानी भएको पाइएको आयोगले जनाएको छ। यसबाट २ लाख ५२ हजार रुपैयाँ थप अनियमितता भएको आयोगको निष्कर्ष छ।

आयोगले गलत विवरणसहितको अभिलेखका आधारमा पेस्की फर्छ्योट गराई कुल ३१ लाख ६७ हजार २ सय रुपैयाँ हिनामिना गरेको पुष्टि भएको जनाएको छ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीविरुद्ध ९ लाख ५३ हजार ६ सय रुपैयाँ, अभयकुमार गुप्ताविरुद्ध ११ लाख ६७ हजार २ सय रुपैयाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरीविरुद्ध ७ लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरेको छ।

त्यस्तै, तत्कालीन वडा अध्यक्ष शुक्रवीर तामाङ र एमआईएस अपरेटर खिरा विकविरुद्ध जनही ३१ लाख ६७ हजार २ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद, बिगो बराबर जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ।

सरकारी अभिलेखमा रहेको विवरण तथा कागजात सच्याउने, थपघट गर्ने र हेरफेर गर्ने कार्यसमेत गरेको आरोपमा पाँचै जनाविरुद्ध थप सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअनुसार सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update