पेशेवर रिट निवेदक तथा ब्ल्याकमेलरको सेल्टर सिंहदरबार

काठमाण्डौ । भेषराज लुइटेल । सायद यो नाम नौलो लाग्न सक्छ । साविकको मदन पोखरा गाविस–१, पाल्पा घर भइ हाल ललितपुर बस्दै आएका भेषराज लुइटेलको परिचय धेरैवटा छन् ।

जस्तो कि सर्वाेच्च अदालतमा उनलाई पेशेबार रिट निवेदक भनेर चिनिन्छ । कार्यालय समयमा उनी प्रायः सिंहदरबारभित्र भेटिन्छन् । सरकारी कर्मचारीहरु उनलाई ‘पहुचवाला व्यक्ति’ भनेर चिन्छन् । ठूला पब्लिक कम्पनी र ठूला करदाताहरु भने उनलाई ‘व्यवसायिक ब्ल्याकमेलर’का रुपमा चिन्छन् ।

उनी आफूलाई कहि कानुन व्यवसायी भनेर चिनाउँछन् भने कही सामाजिक अभियान्त, कही चार्टर्ड एकाउन्टेन्ट (सिए) र कतै भ्रष्टाचार विरोधी ‘देशभक्त’ । 

खासमा उनी भूतपूर्व चार्टर्ड एकाउन्टेन्ट हुन् ।

लुइटेलले २०६० सालतिर काठमाडौँको ठमेलमा बि.आर. लुइटेल एण्ड को. नामक अडिट फर्म खोलेर व्यवसायिक लेखापरीक्षण थालेका थिए । तर, व्यवसायिक आचरण विपरित कार्य गरेको उजुरी परेपछि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले २०६५ साल असार ३ गते उनलाई नसियत दियो । त्यसपछि लुइटेल अडिट फर्म बन्द गरेर अन्य कार्यतर्फ लागेका वडापालिकाको अनुसन्धानले फेला पारेको छ ।

लेखापरीक्षणको लागि कम्पनी ऐनले तोकेको योग्यता भएको लेखापरीक्षक हुनुपर्छ । कम्पनी ऐनमा आइक्यानले कारवाही गरेको व्यक्ति वा फर्मले ३ वर्षसम्म लेखापरीक्षण गर्न नपाउने भन्ने व्यवस्था गरिएको छ ।

पेशेवार रिट निवेदक

पछिल्लो समय लुइटेल पेशेबार रिट निवेदकको रुपमा देखापरेका छन् । सर्वाेच्च अदालतमा अहिले पनि उनले दर्ता गरेका १० भन्दा बढी रिट निवेदन छन् । एउटा रिट निवेदन सर्वाेच्च अदालतबाट अन्तिम टुंगोमा पुग्नको लागि कम्तिमा ५ लाख रुपैयाँ खर्च लाग्ने कानुन व्यवसायीहरु बताउँछन् । तर, देखिनेगरी कुनै पेशा व्यवसायमा संलग्न नरहेका लुइटेलले यति धेरै रिट निवेदन कसरी धानिरहेका छन् भन्ने अर्काे अनौठो पक्ष पनि छ ।

लुइटेल आफूले सर्वाेच्चमा दर्ता गरेका अधिकांश रिट निवेदनमा आफै बहस गर्छन् । तर, उनी कानुन व्यवसायी होइनन् । मुद्दा हाल्ने व्यक्ति र मुद्दा हालिएको वा अभियोग लागेको व्यक्तिले आफ्नो पक्षबाट आफै पनि बहस गर्न दिने अभ्यास अदालतमा हुन्छ । अदालतको यही अभ्यासको सुविधा प्रयोग गर्दै लुइटेलले आफूले हालेका मुद्दामा आफै बहस गरेर कानुन व्यवसायी भएको भ्रम सिर्जना गर्न सकेका छन् ।

‘पहुँचवाला छवि’

लुइटेलको अर्काे सबैभन्दा महत्वपूर्ण पहिचान सिंहदरबारको पहुच हो । सिंहदरबार प्रवेश गर्नको लागि सरकारी कर्मचारी, कानुन व्यवसायी, पत्रकार वा भित्रको कुनै मन्त्रालयबाट पास पठाउनु पर्छ । तर, लुइटेल भने चाहेको बेलामा सिंहदरबार प्रवेश गर्ने गरेका छन् । उनको अधिकांश समय सिंहदरबारभित्रका नेपाल टेलिभिजनको क्यान्टिनमा वित्छ भने उनी विभिन्न मन्त्रालयमा छिरेर सहसचिव र सचिवसँग फोटो खिच्ने र सो फोटो सामाजिक संजानमा राखेर आफ्नो पहुँच देखाउने कार्यमा संलग्न छन् ।

स्रोतहरुले उनी तत्कालिन सहरी विकास मन्त्रालयको एसी मर्मत गर्ने प्राविधिकको नाममा पास बनाएर सिंहरबार प्रवेश गर्ने गरेको दाबी गरेका छन् । केही स्रोतले भने उनले अन्य व्यक्तिको नाममा पास बनाएर सोही देखाएर सिंहदरबार प्रवेश गर्ने गरेका छन् ।

उनले यसअघि सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक पुष्प शाहीलाई आफैले सरुवा गराएर कमल भट्टरार्ईलाई नियुक्ती दिलाएको बताइरहेका छन् । सुशासनको मुख्य नारा दिएर दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले कुनै विचौलियाको आडमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक नियुक्ति गर्ने भन्ने विषय कल्पना गर्न सकिदैन । 

उच्च पदस्थ कर्मचारीहरुसँग निकट सम्बद्ध बनाएर कमजोरी पत्ता लगाउने र पछि उनीहरुलाई नै समस्यामा पार्ने उनको बानी रहेको स्रोतको दाबी छ । लुइटेलको पछिल्लो सिकार पूर्वमुख्य सचिव शंकरदास बैरागी हुन् । लुइटेलले शंकरदास बैरागी मेरो दाइ हो भन्दै र अन्य विभिन्न सरकारी कर्मचारीहरुलाई प्रभावमा पार्दै फोटो खिच्ने गरेको र पछि बदनाम गराउने गरेका थिए । विगतमा शंकरदास बैरागी मेरो दाइ हो भन्दै हिड्ने लुईटेलले पछि उनै शंकरदास बैरागीको नियुक्ती विरुद्ध संसदीय समितिमा मुद्दा हालेका थिए । सरकारले बैरागीलाई मुख्यसचिवबाट हटाएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएपछि  नियुक्तिको विषय संसदीय समितिसम्म पुगेको थियो । सरकारले २०८० साल जेठ ३० गते बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको थियो भने लुइटेलले बैरागी विरुद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा मुद्दा हालेका थिए ।

ठूला करदातासँग ‘ब्ल्याकमेल’

अहिले भेषराज लुईटेल नाम गरेका एक व्यक्तिले आफूहरुलाई ब्ल्याकमेल गरेको भन्ने व्यवसायीको संख्या ठूलो भएको छ । व्यवसायिक फर्महरुको कमजोरी देखिने ठाउँमा समाउने र रकम माग गर्ने, मागे अनुसारको रकम नदिए मुद्दामामिला दर्ता गराएर अनावश्यक हैरानी दिने उनको दैनिकी जस्तै बनेको छ ।

लुइटेलले एभरेष्ट होटल, हायात रिजेन्सी होटल, डोल्मा फण्ड, एनसेल आजियाटा, कालिन्चोक केवलकार जस्ता व्यवसायिक फर्म विरुद्ध मुद्दा दर्ता गरेर रकम माग गरेका स्रोतको भनाइ छ । लुइटेलले दर्ता गरेका १० वटा रिट निवेदन सर्वाेच्च अदालतमा न्यायिक प्रक्रियामा छन् ।

विवादित विगत

लुइटेलको विगत विवादित छ । उनको सिएको लाइसेन्स खारेज भएको छ भने ग्यालेक्सी स्कुलकी संचालिका गीता राणाकी छोरी ज्योत्सना सिंहले लुइटेल विरुद्ध बैंकिङ कसुरको मुद्दा हालेपछि उनी लामो समय भारतमा लुकेर बसेका थिए ।

सिंहको काम गराइदिने भन्दै उनले लाखौं रकम लिए पनि काम गर्न नसकेपछि लुईटेलले नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिए । सो चेक बाउन्स भएपछि पीडितले प्रहरी परिसर, टेकुमा उजुरी दिइन । सिँहको उजुरीको आधारमा निजलाई प्रहरीले पक्राउ गरि बैकिङ् कसुरमा अदालतमा मुद्दा दायर गर्यो । काठमाडौं जिल्ला अदालतमा सिंहले दिएको मुद्दामा उनी दोषी ठहर भए । तर, लुइटेलले पनि सो मुद्दाको पुनरावेदन अदालतमा पुनरावेदन दर्ता गरे भने सोही समयमा रकम तिरेर सफाइ लिन सफल भए ।

 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update