काठमाडौँ । नुवाकोट जिल्लाको विदुन नगरपालिकाले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको व्यवस्थापनका लागि प्रतिपरिवार १० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको १३४औँ बैठकबाट भएका निर्णयअनुसार बिदुर नगरपालिकाभित्र बस्न योग्य घर नभएका नगरवासीलाई तत्काल अस्थायी रूपमा बसोबास गर्न प्रति परिवार १० हजार घरभाडा उपलब्ध गराइने निर्णय भएको नगरपालिकाका अधिकृत रणबहादुर थापामगरले जानकारी दिए । साथै, प्रभावित परिवारलाई आवश्यकताअनुसार भाँडाकुँडा, लत्ताकपडा, किचन सेट, हाइजिन सेटलगायतका सामग्री उपलब्ध गराउने निर्णय गरिएको छ।
नगरपालिकाले कोठा भाडामा लिँदा प्रचलित चलनचल्तीभन्दा बढी रकम लिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ।
त्यस्तै, प्रदेश सरकार, संघीय सरकार तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्यमा अस्थायी आवास निर्माण गरी प्रभावितलाई पुनःस्थापना गर्ने निर्णयसमेत गरिएको छ।
बाढीका कारण विद्यालय सञ्चालनमा परेको असरलाई मध्यनजर गर्दै अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) नभएका विद्यालयमा तोकिएको मितिदेखि पठनपाठन सञ्चालन गर्ने तथा होल्डिङ सेन्टर सञ्चालन भइरहेका सामुदायिक तथा संस्थागत विद्यालयमा केही दिन वैकल्पिक व्यवस्थापन गरी पुनः विद्यालय सञ्चालनमा ल्याउने निर्णय नगरपालिकाले गरेको छ।
यसैगरी, बिदुर नगरपालिकामा सञ्चालित होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाका भोटेकोशी बाढीबाट प्रभावित नागरिक समेत रहेका भए उनीहरूको व्यवस्थापनका लागि सम्बन्धित जिल्ला तथा स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
यस्ता छन् नगरपालिकाका निर्णयहरु
१. विदुर नगरपालिकाभित्र बस्न योग्य घर नभएका विदुर नगरवासीहरुलाई विदुर नगरपालिकाले घर भाडामा लिई बस्नको लागि तत्कालका लागि प्रति परिवार रु. १०,००० (अक्षेरुपी दश हजार मात्र) का दरले घर भाडा रकम उपलब्ध गराई परिवारलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेट लगायतका सामग्री उपलब्ध गराउने।
२. कोठा भाडामा लिँदा वा दिँदा कोही कसैले प्रचलितरचलनचल्तीको भाडादर भन्दा बढी लिएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गरिने।
३. तिनै तहको सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था र दाताहरुको सहयोगमा अस्थायी आवास निर्माण गरी पुनः स्थापना गरिने।
४. अस्थायी आवास केन्द्र भएको बाहेकको विद्यालयहरुमा मिति २०८३/०४/२४ गतेबाट पठनपाठन सञ्चालन गर्ने र होल्डिङ सेन्टरहरु सञ्चालन रहेको सामुदायिक र संस्थागत विद्यालयहरुमा केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याइने छ।
५. विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाका भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई सम्बन्धित जिल्ला तथा पालिकाहरुलाई व्यवस्थापनका लागि आग्रह गर्ने ।




