काठमाडौं । आज हिन्दूहरुको सबैभन्दा ठूलो पर्व बडादसैंको छैटौं दिन शक्ति स्वरुपा कात्यायनीदेवीको पूजा–आराधना गरी मनाइँदैछ ।
माता दुर्गाले कात्यायनीको रुपधारण गरेर महिषासुरको वध गरेकी थिइन् । त्यसैले हिन्दू धर्मग्रन्थमा कात्यायनी देवीलाई साहसको प्रतीक मानिन्छ ।
ऋषि कात्यायनकै पुत्री भएकाले उनलाई कात्यायनी देवीका नामले चिनिन्छ । यो देवी पार्वतीको सबैभन्दा उग्ररुप मानिन्छ ।
देवी कात्यायनीले बायाँ हातमा कमलको फूल र तरबार तथा दायाँ हात अभयमुद्रा र वरद मुद्रामा छन् । उनलाई विशेषगरी गुलाफको रातो फूल मनपर्ने विश्वास गरिन्छ ।
यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यो लोकमा आगमन भएको धार्मिक विश्वास छ ।
ब्रम्ह मुहूर्तमा स्नान ध्यान गरेर शुद्ध कपडा लगाएर कात्यायनी देवीको पूरा गर्नुपर्छ । कात्यायनी देवीको पूजा गर्ने भक्तलाई धनधान्य, धर्म र मोक्षको प्राप्ति हुन्छ भन्ने जनविश्वास छ ।
यतिमात्रै होइन कसैको वैवाहिक जीवनमा समस्या आइरहेको छ भने कात्यायनी देवीको पूजा गर्दा समाधान हुने तथा अविवाहितहरुले पूजाआरधना गरेमा योग्य वर प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
कात्यायनी देवीको पूराआरधना गरेर जीवनमा सुख र समृद्धि प्राप्त गर्न सकिन्छ । कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक पनि मान्ने गरिन्छ ।
कात्यायनी देवीलाई सकारात्मक क्रोधको प्रतीक पनि मानिन्छ । जसले सबै प्रकारको नकारात्मकतालाई समाप्त गरेर सकारात्मक ऊर्जाको सञ्चार गर्दछ भन्ने विश्वास छ ।
अश्विन कृष्ण चतुर्दशीको दिन कात्यायनकी पुत्रीको रुपमा देवीको जन्म भएको थियो । ऋषि कात्यायनले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमीका तीन दिनसम्म भगवती पराम्बराको विधिपूर्वक पूजा गरेका थिए ।
सोही पूजाको प्रसाद खाएर दशमीका दिन कात्यायनी देवीले महिषासुरमाथि विजय हाँसिल गरेको पौराणिक कथन छ ।


