काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुने भएको छ । बिहीबार नै हुने भनिएको मतदान शुक्रबारका लागि सारिएको थियो ।
आज मतदानका लागि प्रतिनिधिहरु बिहानैदेखि लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि नै सुरु हुने निर्वाचन समितिले जनाएको छ । दिउँसो ३ बजेसम्ममा मतदान सकेर साँझदेखि नै मतगणनाको तयारी समेत भइरहेको छ ।
काँग्रेसको महाधिवेशनमा देशभरबाट ७ हजार ३१७ जना प्रतिनिधि रहेका छन् । मतदानका लागि मतपत्रमा हस्ताक्षर गर्नका लागि ३२ जना वरिष्ठ अधिवक्ताहरु खटिएका छन् ।
महाधिवेशन निर्धारित भन्दा एक दिन लम्बिएकाले प्रतिनिधिहरूको शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने काँग्रेसले जनाएको छ ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’मा बागमती प्रदेश, खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश र तराई–मधेस समूह, हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिलाई मतदानको व्यवस्था गरिएको छ ।
यसैगरी तराई–मधेस हलमा मधेस प्रदेश, पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्नेछन् ।
निर्वाचन समितिले प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गरेपछि आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा जान आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइनेछ ।
मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन् ।


