अब ग्यास सिलिण्डर साटेर पनि पाइने, पैसा थप्नु नपर्ने, मन्त्रीले दिइन् निर्देशन

 

काठमाडौँ । खाना पकाउने ग्यास (एलपिजी) को सिलिण्डर साट्न पैसा नपर्ने भएको छ । अहिलेसम्म एउटा कम्पनीको सिलिण्डरमा सोही कम्पनीले भरेको ग्यास मात्रै पाइने गरेपनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले अब जुनसुकै कम्पनीको सिलिण्डर भएपनि साटेर ग्यास दिन निर्देशन दिएकी हुन् ।

बाढीका कारण आपूर्ति प्रणालीमा समस्या परेपछि मन्त्रीको यस्तो निर्देशन आएको हो । मन्त्री गौरीकुमारी यादवले जुनसुकै कम्पनीको सिलिन्डर भएपनि साटेर ग्यास दिन निर्देशन दिएकी उनको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी उनले यो निर्देशन दिएकी हुन् ।  एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट (इन्टरचेञ्ज) गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उनको  सचिवालयको भनाइ छ ।

यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्रान्डको सिलिन्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिन्डरमार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने मन्त्रीको विश्वास छ । प्राकृतिक विपद्का कारण उत्पन्न आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update