काठमाडौं । बडादसैँको नवमी अर्थात् महानवमीका अवसरमा आज देशभर धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार पूजा आराधना गरी पर्व मनाइँदैछ। महानवमीका दिन निर्माण कार्यमा प्रयोग हुने औजार, कलकारखानाका मेसिनरी उपकरण तथा सवारीसाधनको पूजा गर्ने परम्परा छ।
यसैक्रममा काठमाडौंस्थित भद्रकाली मन्दिर परिसरमा सवारीसाधनको पूजा गर्नेहरूको बिहानैदेखि भीड लागेको छ। चालक तथा सवारीधनीहरूले मोटरसाइकल, कार, ट्याक्सी र बसलगायत सवारीसाधन मन्दिर परिसरमा ल्याएर विधिपूर्वक पूजा गरेका छन्। उनीहरूले सवारीसाधनमा टीका लगाउनुका साथै प्रसाद ग्रहण गरेका छन्।
महानवमीका दिन सवारीसाधन तथा औजारको पूजा गर्दा काममा सफलता मिल्ने, दुर्घटनाबाट जोगिने र व्यवसायमा प्रगति हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका आधारमा यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तिहरूले यस दिन विशेष रूपमा पूजा गर्ने गर्छन्।
सवारीसाधनको पूजा गर्न आउनेहरूको चहलपहल बढेसँगै भद्रकाली मन्दिर आसपासका क्षेत्रमा बिहानैदेखि सवारीसाधनको आवागमनसमेत बढेको छ।



