एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आउँदा १६ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् ।
तिब्बतको राजधानी ल्हासाबाट करिब ४ सय किलोमिटर टाढा तिब्बतको नागकू क्षेत्रमा जमिनबाट १० किलोमिटर गहिराईमा भूकम्पको केन्द्रबिन्दु भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
चीनको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार भूकम्पको झट्का स्थानीय क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पपछि आपत्काल घोषणा गर्दै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ । भूकम्पले ३३९ वटा घर भत्किएका छन् भने विद्युत् आपूर्ति अवरुद्ध भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पपछिको पहिरोका कारण सो क्षेत्रका सडकसमेत अवरुद्ध भएका छन् । जसका कारण उच्च भूभागमा रहेका प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न कठिनाइ भइरहेको जनाइएको छ ।
भूकम्पका धक्का तिब्बतका काम्दो र न्यिङ्ची सहरमा समेत महसुस गरिएको थियो । भारतीय र युरसियन टेक्टोनिक प्लेटबीच आपसमा ठक्कर खाँदा यो क्षेत्रमा भूकम्प आउने गर्छ ।
जनवरी, २०२५ मा तिब्बतको तिंगरी काउन्टीमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन भूकम्पमा परी करिब ४ सय जनाको मृत्यु भएको थियो भने नेपालमा १३ जनाको मृत्यु भएको थियो । यो भूकम्पको झट्का भारतसहित केही दक्षिण एसियाली देशमा समेत गरिएको थियो ।
सन् २०२३ मा चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा १२० जनाभन्दा बढीको मृत्यु भएको थियो ।



