दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिनसम्म सञ्चालन हुने

​​​​​​​काठमाडौं। बडादसैँका अवसरमा काठमाडौं उपत्यकामा सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरी बल नेपालले दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ।

दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सोमबारदेखि सुरु भएको निःशुल्क बस सेवा तीन दिनसम्म सञ्चालन हुनेछ। ती बस बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उपत्यकाका विभिन्न रुटमा चल्नेछन्।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकबाट छुट्ने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खुलगायत क्षेत्रका यात्रुलाई सेवा प्रदान गर्नेछ।

त्यसैगरी, प्रधान कार्यालय हल्चोकबाटै छुट्ने दोस्रो बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्कलगायत क्षेत्रका यात्रुलाई निःशुल्क सेवा दिनेछ।

दसैँका बेला सार्वजनिक यातायातको अभावमा यात्रुले भोग्नुपर्ने असुविधालाई कम गर्न सञ्चालन गरिएको यस सेवाबाट उपत्यकाभित्र आवतजावत गर्ने सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  २०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update